काठमाडौं महानगरको राजस्व संकलनमा ३० प्रतिशतले वृद्धि

६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाको राजस्व संकलनमा वृद्धि भएको छ । ५ असोजसम्म महानगरपालिकाले १ अर्ब ६७ करोड १४ लाख ६ हजार ९८३ रुपैयाँ राजस्व संकलन भएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को ५ असोजसम्म १ अर्ब २८ करोड ७१ लाख ३२ हजार ६६८ रुपैयाँ राजस्व संकलन भएको थियो ।

frontline

यसअनुसार यो वर्ष गत वर्षको समीक्षा अवधिको तुलनामा २९.८५ प्रतिशत अर्थात् ३८ करोड ४२ लाख ७४ हजार ३१५ रुपैयाँ बढी राजस्व उठेको महानगरपालिकाले जनाएको छ ।

विगत वर्षहरुमा अटेर गरेर कर नतिर्ने ठूला करदातालाई पत्राचार गरेर कडाइ गरेपछि यस वर्ष राजस्व संकलनको मात्रामा वृद्धि भएको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले बताए । ‘गएको वर्षहरुमा पनि पत्राचार भएको हो, तर, करदाताले टेरेका थिएनन्’ उनले भने ।

मनोरञ्जन कर तिर्न नमानेका क्यासिनो सञ्चालकहरुलाई पत्राचार गरेपछि चालु आर्थिक वर्षको यस अवधिसम्ममा ८६ लाख ४५ हजार १८९ रुपैयाँ कर तिरिसकेका छन् ।

करको दायरामा आउन नमानेका संघ संस्थाले १ करोड ८० लाख ७३ हजार ३११ रुपैयाँ सम्पत्ति कर पनि तिरेका छन् । यस्तै बहाल कर बुझाउन आनाकानी गरिरहेका संघ संस्थाहरुबाट ७८ लाख ३६ हजार ४४१ रुपैयाँ ६६ पैसा राजस्व असुली भएको राजस्व विभागका प्रमुख डा. अधिकारीले बताए ।

पत्राचार गरिएकामध्ये विभिन्न व्यवसायीहरुले १८ लाख रुपैयाँ व्यवसाय कर बुझाएका छन् । नियमित करदाताबाहेक कर तिर्न अटेर गर्नेहरुबाट करिब ५० करोड रुपैयाँ राजस्व थप हुने प्रक्षेपण गरिएको अधिकारीले बताए । ‘यसमध्ये विद्युत् प्राधिकरणले मात्र २६ करोड १९ लाख रुपैयाँ सम्पत्ति कर तिर्नुपर्छ’ डा. अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here