काठमाडौँ । तिहार नेपालको मौलिक चाड हो । यद्यपि तिहारमा प्रयोग हुने अधिकांश सामान विदेशबाटै आयात हुने गरेको छ ।
तिहार नजिकिएसँगै बजारमा भाइमसलाका रूपमा प्रयोग हुने ड्राइफ्रुट्सको व्यापारमा चहलपहल सुरु भएको छ । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई दीर्घायु, सुस्वास्थ्य र आरोग्यको कामना गर्दै सप्तरङ्गी टीकासँगै उपहारस्वरूप काजु, बदाम, किसमिस, ओखर, नरिवल, पेस्ता, अन्जिरजस्ता पोषिला ड्राइफ्रुट्स दिने परम्परा छ । यही सांस्कृतिक महत्त्वका कारण चाडपर्वको सिजनमा यस्ता ड्राइफ्रुट्सको माग ह्वात्तै बढ्ने गर्दछ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउनदेखि असोज मसान्तसम्म) तथ्याङ्क अनुसार यस अवधिमा नेपालमा झन्डै तीन अर्ब रुपैयाँ बराबरका विभिन्न प्रकारका ड्राइफ्रुट्स आयात भएका छन् ।
चीन र भारत किसमिस आयात हुँदा २७ करोडभन्दा बढी बाहिरियो
भाइटीकाको मसला पोकामा काजु र बदामसँगै अनिवार्य राखिने किसमिस (सुकेको अङ्गुर) को आयात पनि उल्लेख्य देखिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार तीन महिनाको अवधिमा नेपालले कुल २७ करोड ६३ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको ७ लाख ३३ हजार ५९८ केजी (करिब ७३३ टन) किसमिस आयात गरेको छ । किसमिसको आयातमा उत्तरी छिमेकी चीन पहिलो नम्बरमा देखिएको छ । चीनबाट मात्रै १९ करोड ९१ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको ५ लाख ३ हजार १३९ केजी किसमिस भित्रिएको छ ।
यस्तै, भारतबाट ७ करोड ७० लाख ९२ हजार रुपैयाँ मूल्यको २ लाख ३० हजार ११८ केजी किसमिस नेपाल आएको छ । यसबाहेक कतारबाट ४५ हजार रुपैयाँ मूल्यको १८४ केजी, कुवेतबाट १५ हजार रुपैयाँ मूल्यको ८८ केजी, साउदी अरबबाट ९ हजार रुपैयाँ मूल्यको ४४ केजी, यूएईबाट ६ हजार रुपैयाँ मूल्यको २३ केजी तथा बेलायत र इजरायलबाट १/१ केजी किसमिस आयात भएको विवरणमा देखिन्छ । किसमिस आयातबाट मात्रै सरकारले ६ करोड ७१ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।






प्रतिक्रिया दिनुहोस्