कांग्रेस दलिततर्फ केन्द्रीय सदस्यमा ९ जना विजयी
८ पुस काठमाडौं । नेपाली कांग्रेसमा समावेशी अन्तर्गत दलिततर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।
बुधबार राति सम्पन्न मतगणना अनुसार दलिततर्फ खुलामा पाँच र महिलामा चार जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मत भने अझै सार्वजनिक गरेको छैन ।
खुला केन्द्रीय सदस्यमा मानबहादुर नेपाली, प्रकाश रसाइली स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल बाल्मीकी निर्वाचित भएका छन् ।
स्नेहीबाहेक सबै संस्थापन समूहका उम्मेदवार हुन् । त्यस्तै खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित सबै नयाँ अनुहार हुन् ।
दलिततर्फ चार महिला केन्द्रीय सदस्यतर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विश्वकर्मा निर्वाचित भएका छन् ।
शान्ति र रुपा केन्द्रीय सदस्यमा नयाँ अनुहार हुन् । महिलातर्फ निर्वाचित चारै जना संस्थापन समूहका उम्मेदवार हुन् ।
मंसिर २४-२७ सम्म भएको कांग्रेसको १४ औं महाधिवेशनमा १३४ पदका लागि निर्वाचन भएको थियो ।
बुधबारसम्म दलिततर्फसहित १०६ पदको मतपरिणाम सार्वजनिक भएको हो ।
निर्वाचन समितिका अनुसार अब आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्