कम्पनी रजिष्टारको गैरकर राजस्व संकलन पहिलो पटक एक अर्बबढी
२४ माघ, काठमाडौं । कम्पनी रजिष्टार कार्यालयको गैरकर राजस्व संकलन पहिलो पटक एक अर्ब नाघेको छ । निष्क्रिय कम्पनी अद्यावधिक गर्न बजेटले दिएको छुट सुविधाका कारण राजस्व संकलन हालसम्मकै उच्च भएको कार्यालयले जनाएको छ ।
चालु आवको माघ २४ गतेसम्म यस्तो राजस्व संकलन एक अर्ब २८ लाख ४ हजार ७७४ पुगेको मुख्य रजिष्टार प्रदीपराज अधिकारीले बताए । ‘यो वर्षको ६ महिनामा भएको राजस्व संकलन गत वर्षको कुल संकलन भन्दा धेरै भयो ।
गत वर्ष यस्तो राजस्व संकलन ९८ करोड ५१ लाख १५ हजार ९०२ रुपैयाँ मात्रै थियो’ अधिकारीले भने । कर तथा जरिवाना नतिरेका र निष्क्रिय कम्पनीहरुलाई लाग्ने राजस्व छुटमा बजेटले दिएको सुविधाका कारण कम्पनी अद्यावधिक गर्न आउनेहरु बढेको पनि कार्यालयले जनाएको छ ।
कोभिडमा सेवा प्रभाव चुस्त बनाउन कम्पनी रजिष्टारको काम डिजिटल प्रविधिमा आधारित बनाएकाले पनि कर संकलनमा वृद्धि भएको कार्यालयको दाबी छ । अद्यावधिक गर्न आउने कम्पनीलाई ९० देखि ९५ प्रतिशतसम्म छुट बजेटबाटै निश्चित गरिएको पनि कार्यालले जनाएको छ ।
चालु आवको ६ महिनामा १४ हजार ७४५ वटा कम्पनीहरु दार्ता भएका छन् । जसमा २८ वटा पब्लिक र १४ हजार ४०८ वटा प्राईभेट र २८७ वटा मुनाफा वितरण नगर्ने कम्पनीहरु रहेका छन् ।
यस्तै चाल आवको ६ महिनामा २२ वटा विदेशी कम्पनीले नेपालमा शाखा कार्यालय खोल्ने अनुमति कार्यालयबाट लिएका छन् । गत वर्ष यो अवधिमा १६ हजार ९३८ वटा कम्पनी दर्ता भएका थिए ।
यो वर्ष २ वटा कम्पनी खारेजीमा गएका छन् भने २४ कम्पनीहरु एक अर्कोमा गाभिएका छन् । ६१२ कम्पनीले आफ्नो परिवर्तन गरेका छन् भने १५ सय ९२ वटा कम्पनी नाम परिवर्तन गर्दा २ हजार ८ वटा कम्पनीले पूँजी वृद्धि र कम्पनी संरचना परिवर्तन गरेको कार्यालेल जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्