कमजोर प्रणालीका कारण विद्युत् आपूर्ति प्रभावित भयो : हितेन्द्रदेव शाक्य

कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको पूर्वाधार, उपकरण र नेटवर्कको कमजोरीले विद्युत् आपूर्तिमा समस्या आइरहेको दाबी गरे ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- नेपाल विद्युत् प्राधिकरणले विद्युत् उत्पादन बढ्दै गए पनि प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा आपूर्ति प्रभावित भएको छ।
- प्रसारण लाइनको सीमाभन्दा बढी लोड र नेटवर्कको कमजोरीले ट्रिपिङ र आपूर्ति समस्या देखिएको छ।
- प्राधिकरणले पूर्वाधार र नेटवर्क सुधार गर्न आवश्यक कदम चालिरहेको जनाएको छ।
२ जेठ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् उत्पादन बढदै गए पनि सोही अनुसार प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित भएको बताएका छन् ।
शाक्यले प्रसारण लाइन सञ्जाल द्रुत गतिमा बढाउँदै लान नसके हिजो बिहीबार रातिको जस्तो सानो–सानो घटनामा पनि विद्युत् आपूर्ति प्रभावित (ट्रिपिङ) भइरहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए ।
प्राधिकरणको स्युचाटार सबस्टेसनमा आयोजित्र पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक शाक्यले प्रसारण लाइन सञ्जाल अब पनि तीव्र गतिमा विस्तार गर्दै नलगे साह्रै ठूलो समस्या, संकट, दुर्घटना निम्तिन सकिने बताए ।
शाक्यले प्राधिकरणको पूर्वाधार, उपकरण र नेटवर्कको कमजोरीले विद्युत् आपूर्तिमा समस्या आइरहेको दाबी गरे ।
‘यसलाई चाँडो सम्बोधन नगरे सानो–सानो घटनामा पनि ट्रिपिङ भइरहने हुन्छ । यसले ठूला समस्या र दुर्घटना पनि निम्त्याउन सक्छ,’ उनले भने, ‘हिजो राति मैले साढे २ घण्टा कन्ट्रोल रुममा बसेर सबै हेरेँ । अब हामी हिजोभन्दा उत्कृष्ट काम गर्छौं । यसमा कसैले पनि चिन्ता लिनुपर्दैन, प्रणालीलाई अझै सुधार गर्दै लान्छौं ।’
कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको पूर्वाधार, उपकरण र नेटवर्कको कमजोरीले विद्युत् आपूर्तिमा समस्या आइरहेको दाबी गरे । माग र सिस्टम बढ्दै जाँदा पूर्वाधार नबढ्दा सीमाभन्दा बढी भएको उनले बताए ।
‘अहिले हामी विक लिंकमा पुगेका छौं । जहाँ–जहाँ विक लिंक भेटिन्छ, त्यहाँ–त्यहाँ ब्रेक हुन्छ र ट्रिप हुने समस्या देखिन्छ,’ उनले भने, ‘प्रसारण लाइनहरूको क्षमताको सीमामा पुगिसकेको छ, जसले लाइन ट्रिप हुने गर्छ । यस्तो हुन नदिन पनि हामी आफैंले आपूर्ति बन्द गर्नुपर्ने अवस्था आउने गर्छ ।’
स्युचाटार र बालाजु सबस्टेसनमा पनि यस्तै समस्या रहेको उनले बताए । त्यस्तै ढल्केबरबाट चन्द्रनिगाहपुर हुँदै पथलैया जाने प्रसारण लाइनमा पनि ओभरलोड भइरहेको उनको भनाइ छ । वर्षामा पर्याप्त बिजुली हुँदा पनि त्यस क्षेत्रमा लोडसेडिङ हुने गरेको उनले बताए ।
‘सिस्टमले नधानेका कारण विद्युत् आपूर्ति प्रभावित भएको हो,’ कार्यकारी निर्देशक शाक्यले भने, ‘माग र आपूर्तिलाई सन्तुलनमा ल्याउन पनि प्रसारण लाइन पूर्वाधार बढाउँदै जानुपर्छ ।’
कमजोर प्रणाली भएका कारण विद्युत् आपूर्तिमा समस्या देखिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्