कप्तान किरण लिम्बु मोरिसस विरुद्धको मैत्रीपूर्ण खेलका लागि फर्किए स्वदेश
१३ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु (चेम्जोङ) मोरिसस विरुद्धको मैत्रीपूर्ण खेलका लागि स्वदेश फर्किएका छन् ।
माल्दिभ्सको माजिया स्पोर्ट्स एण्ड रिक्रिएसन क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका कप्तान किरण राष्ट्रिय टोलीको ड्युटीका लागि बुधबार राति नेपाल आइपुगेका हुन् ।
किरणलाई राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।
नेपालले यही माघ १५ र १८ गते दशरथ रंगशालमा अफ्रिकन राष्ट्र मोरिसस विरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।
मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले दुवै खेलका फरक-फरक टोली घोषणा गरिसकेका छन् । जसमा कप्तान किरणसहित १२ खेलाडी दुवै टिममा छन् ।
यस्तै पहिलो पटक क्याम्पमा स्थान बनाएका ९ जना खेलाडी पनि दुई फरक टिम बनाउँदा पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले मैत्रीपूर्ण खेलमा रंगशालाको कूल क्षमताको एक तिहाइ दर्शकलाई प्रवेश अनुमति दिने जनाइसकेको छ । दुवै खेल साँझ पौने ५ बजे सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्