कतार फिफा विश्वकप : १३ टोलीको लाग्यो टुङ्गो
१ मंसिर, काठमाडौं । कतारमा हुने फिफा विश्वकप २०२२ खेल्ने १३ टोलीको टुङ्गो लागेको छ। बुधबार बिहान अर्जेन्टिना छनोट भएसँगै आगामी वर्ष कतारमा हुने विश्वकप खेल्नका लागि स्थान पक्का गर्ने टोलीको संख्या १३ पुगेको हो।
दक्षिण अमेरिकी महादेशको छनोटअन्तर्गत बुधबार बिहान अर्जेन्टिनाले चीरप्रतिद्वन्द्वी ब्राजिलसँग गोलरहित बराबरी खेलेपछि चार खेल खेल्न बाँकी रहँदै आगामी वर्ष कतारमा हुने विश्वकपमा सहभागिता जनाउने निश्चित भएको हो।
सन् २०२२ को नोभेम्बर र डिसेम्बरमा हुने विश्व फुटबलको महाकुम्भमा ३२ टिम सहभागी हुने छन्। विभिन्न ३१ राष्ट्रले छनोट चरण पार गर्नुपर्नेछ भने आयोजकका हिसाबमा कतारले स्वतः प्रवेश पाएको छ। यद्यपि, प्रतियोगितामा १९ टिमको टुंगो लाग्न बाँकी छ।
युरोपबाट छनोट हुने १३ मध्ये १० वटा टोली (जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन-युरो छनोट, सर्विया, इङ्ल्याण्ड, स्वीटजरल्याण्ड र नेदरल्याण्ड छनोट भइसकेका छन्। बाँकी ३ टोलीले ‘प्ले अफ’बाट विश्वकपमा स्थान पक्का गर्ने छन्।
यस्तै, दक्षिण अमेरिकन छनोटबाट सोझै छनोट हुने चारमध्ये हालसम्म ब्राजिल र अर्जेन्टिना छनोट भइसकेका छन्। बाँकी दुई टिम सोझै छनोट हुने छन्। यस्तै, थप १ टोली क्वालिफायर खेलेर आउनेछ।
यता, एसियाबाट चार टोली छनोटबाट सोझै छनोट हुने छन् भने एक प्लेअफ क्वालिफायर आउने छन्।
उत्तर/ मध्य अमेरिका र क्यारेबियन तीन टोली छनोटबाट सोझै छनोट हुने छन् भने एक क्वालिफायर आउने छन्। ओसिनियाबाट एक टोली ‘प्ले अफ’ क्वालिफायर खेलेर आउने छन्। यता, अफ्रिकाबाट पाँच टोली सहभागी हुने छन्।
प्रतिक्रिया दिनुहोस्