ओमिक्रोनले नयाँ भेरियन्ट बनाउने जोखिम, निरन्तर सावधानी अपनाउन आग्रह

 १३ माघ, काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वभर फैलिएको कोभिड–१९ भाइरसको ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम रहेकाले निरन्तर सावधानी अपनाउन आग्रह गरेको छ । 

आज हामीसँग कुराकानी गर्दै महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले ओमिक्रोन भाइरस जति धेरै फैलिन्छ उति नै नयाँ भेरियन्ट बन्ने जोखिम रहेको बताउनुभयो ।

frontline

ओमिक्रोनबाट उत्परिवर्तन भएर आउन सक्ने भेरियन्ट ओमिक्रोन भन्दा घातक र जटिल प्रकृतिको पनि हुन सक्ने अवस्था रहेकाले निरन्तर सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।  

डा. पौडेलले भाइरसमा छिटो छिटो उत्परिवर्तन अथवा आनुवांशिक परिवर्तन हुने भएकाले ओमिक्रोन कमजोर भयो, डेल्टा भेरियन्टलाई विस्थापित गर्‍याे भनेर ढुक्क हुन नसकिने बताउनुभयो ।

विश्वव्यापी रूपमा अध्ययन गर्दा कोभिड–१९ को महामारी यतिमै सीमित रहने तथ्य स्पष्ट भइनसकेको उहाँले बताउनुभयो । अर्को भेरियन्ट योभन्दा कडा आएमा मात्र ओमिक्रोन विस्थापित हुने उहाँको भनाइ छ । 

डा. पाैडेलले भन्नुभयो, ‘विश्वव्यापी तथ्याङ्कहरूले ओमिक्रोन धेरैजसाे देशमा छिटो फैलिएको र डेल्टालाई विस्थापन गरेको भन्ने देखाएकाे छ ।

त्यो सँगसँगै हामीले के बुझ्नुपर्छ भने ओमिक्रोनले डेल्टालाई विस्थापन गरे पनि यो भाइरस जति धेरै फैलिन्छ, जति धेरै ठाउँमा, धेरै व्यक्तिमा पुग्छ, नयाँ भेरियन्ट बनाउने जोखिम कायमै छ ।

जस्तो डेनमार्कको पछिल्लो अध्ययन हामीले हेर्‍याैँ भने यसको पनि सबलिनियज विकास भइसकेको भन्ने छ । किनभने भाइरस निरन्तर विकास भइराख्ने हुने हो ।

आफ्नो सर्भाइभलका लागि यसले आफ्नो उत्परिवर्तन अथवा आनुवांशिक परिवर्तन गर्छ । त्यो हिसाबले ओमिक्रोन भन्दा पछि आउने भेरियन्ट दुई वटा प्रकारका हुन सक्छन् ।

एउटा यो भन्दा जटिल हुन सक्छ । कडा हुन सक्छ । अथवा यो भन्दा कमजोर हुन सक्छ । कमजोर हुँदै गयो भने त हामीले सोच्या जस्तै भयो ।

तर अहिलेकै अवस्थामा कसैले पनि ग्यारेन्टीका साथ यो पछि आउने भेरियन्ट योभन्दा कमजोर नै आउँछ भन्न सक्ने अवस्था छैन ।

त्यस कारण विश्व स्वास्थ्य सङ्गठनले पनि यो इन्ड अफ प्यान्डामिक भन्ने बेला भएको छैन । जोखिम कायम नै छ ।’

महाशाखा प्रमुख पौडेलले अहिले ८७ हजार जना हाराहारीमा सक्रिय सङ्क्रमित रहँदा संस्थागत आइसोलेशनमा झन्डै १२ सय जनामात्र रहेको र अन्य सङ्क्रमित घरमै आइसोलेशनमा बसिरहेको बताउनुभयो ।

अहिले दैनिक दुई सय जना सङ्क्रमितलाई सघन उपचार कक्ष (आईसीयू) मा उपचार गर्नुपरेको र त्यसमध्ये ३० देखि ४० जनालाई भेन्टिलेटर आवश्यक परेको उहाँले जानकारी दिनुभयो ।

यस्तै जनवरी महिनाको अन्तिम अर्थात् माघ महिनाको मध्यमा पुग्दा सङ्क्रमित हुने र अस्पतालको सेवा चाहिने सङ्क्रमितको सङ्ख्या पनि धेरै बढ्ने प्रक्षेपण स्वास्थ्य मन्त्रालयले गरेको डा. पौडेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here