ओमिक्रोन’ फैलिन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई प्रधानमन्त्रीकाे निर्देशन

२३ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ काे सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । 

आज शुक्रवार सिंहदरबारमा रहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफू संयोजक रहेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) निर्देशक समितिको बैठक बोलाइ प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको सङ्क्रमण फैलिन नदिन र सङ्क्रमितहरूको उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो । 

frontline

उहाँले ओमिक्राेनकाे सङ्क्रमण दर फैलिन नदिन सीमा नाकालाई चुस्त बनाउन र सङ्क्रमितको खाना र बस्नको आवश्यक व्यवस्था मिलाउन पनि सचेत गराउनुभयो ।

सङ्क्रमितको परीक्षण, उनीहरूकाे उपचारको व्यवस्था र कोभिडविरुद्धको खोप लगाउने कामलाई पनि अझ तीव्रता दिन प्रधानमन्त्रीबाट निर्देशन भएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो ।

बैठकले सङ्घीय सरकारले बेहाेर्ने गरी सङ्क्रमितको उपचार खर्च तत्कालका लागि भने पालिकाले बेहाेर्ने विषयमा पनि छलफल गरेको छ ।

मन्त्री खतिवडाले भन्नुभयो, ‘कोभिडको विषयमा केन्द्रित भएर छलफल भयो । ओमिक्रोनको बढ्ने लहरको विषयमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा कुरा भयो । चाँडै नै बुस्टर डाेजमा पनि जाने भन्ने छलफल भयो । प्रधानमन्त्रीबाट पनि त्यही निर्देशन भयो ।’

बैठकमा कोराेना भाइरसकाे ओमिक्रोन भेरियन्टको सङ्क्रमण दर बढ्दै गएमा छिट्टै अर्को बैठक बोलाएर ‘स्मार्ट लकडाउन’ गर्ने विषयमा पनि छलफल भएको छ ।

सङ्क्रमितको सङ्ख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालय बन्द गर्ने जस्ता ‘स्मार्ट लकडाउन’ का विषयमा पनि छलफल गरिएको मन्त्री खतिवडाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here