एसीसी प्रिमिअर कपमा समूह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई छ विकेटले हरायो
लीगको अन्तिम खेल खेल्नुअगावै एसीसी प्रिमिअर कपको समूह एको शीर्ष स्थानमा रहिसकेकोले ढुक्क नेपालले वर्षाले प्रभावित लीगको अन्तिम खेलमा बुधवार साउदी अरबलाई छ विकेटले पराजित गरेको छ।
यससँगै ओमानमा जारी प्रतियोगितामा लीगका चारवटै खेल जित्दै नेपालले सेमिफाइनल खेल्नुअगाडि प्रशस्त आत्मविश्वास बटुलेको छ।
अघिल्लो रात परेको पानीका कारण अल अमेरत क्रिकेट मैदान २ को पिच भिजेपछि खेल झन्डै साढे दुई घण्टा ढिलो सुरु भएको थियो।
त्यसपछि नेपाली कप्तान रोहित पौडेलले टस जितेर फील्डिङ रोज्दै साउदी अरबलाई ७३ रनमा रोके।
जबाफमा ७.२ ओभरमा चार विकेट गुमाउँदै नेपालले खेल आफ्नो पक्षमा पार्यो।
साउदी अरबले कसिकसाउ बलिङ गर्दै नेपालका सुरुवाती ब्याटरहरूलाई पवेलियन फर्काएपछि नेपालले जितको लागि भने सङ्घर्ष गर्नुपर्यो।
कुशल भुर्तेल(० रन), आशिफ शेख (२ रन) र कुशल मल्ल (२ रन)तीन ओभरभित्र सस्तोमा आउट भएपछि खेलाडीहरू दबावमा परे।
दीपेन्द्रसिंह ऐरी पनि नौ बलमा १७ रन बनाएर आउट भए।
यस्तोमा फेरि एकपटक गुलशन झाले महत्त्वपूर्ण इनिङ्स खेल्दै १९ बलमा अविजित ३२ रन बनाएर नेपाललाई जिताए। उनले विजयी चौका पनि हाने।
प्रतिक्रिया दिनुहोस्