एमालेको ह्विप उलंघन गरेका तीन सांसद कर्णाली प्रदेशको मन्त्री नियुक्त
फ्रन्टलाइन राजनीति । पार्टी ह्विप उल्लंघन गरेका नेकपा एमालेका तीनजना सांसदलाई महेन्द्रबहादुर शाहीले मन्त्री बनाउनुभएको छ । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सभाबाबाट शुक्रबार विश्वासको मत लिने क्रममा फ्लोर क्रस गरी आफूलाई सघाएका एमालेका चारमध्ये तीन सांसदलाई शनिबार मन्त्री बनाउनुभएको हो । फ्लोर क्रस गरेका ती सांसदलाई एमालेले भने पार्टीबाट निष्कासन गरेको छ।
मुख्यमन्त्री शाहीले एमाले सांसद नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, अम्मरबहादुर थापालाई भौतिक पूर्वाधार मन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएको हो। तीनैजनाले सोमबारदेखि कार्यभार सम्हाल्नेछन्। बुढा शाही नेतृत्वको सरकारमा यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री थिए। सर्वोच्च अदालतले नेकपा खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि चैत ५ गते कर्णालीमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
पार्टीले समर्थन फिर्ता लिएपछि शाही नेतृत्वको सरकारमा रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बुढा र सामाजिक विकासमन्त्री दल रावलले २५ चैतमा राजीनामा दिएका थिए।
प्रतिक्रिया दिनुहोस्