एमाले स्पष्टीकरण को मेसेन्जरबाटै रिप्लाई

पार्टीको संस्थागत कुरा घरको व्यक्तिगत जस्तो शैलीमा

म्यासेन्जरबाटै ओलीलाई सांसदहरुको जवाफ : हामी एमालेमै छौँ, विश्वासको मत दिन्छौँ

‘अहिले पनि पार्टी काममै छु। पार्टी अध्यक्षज्यूलाई केही लागेको होला, किन र के का लागि स्पष्टीकरण सोधियो थाहा छैन।’

frontline

नेकपा एमालेले स्पष्टीकरण सोधेका तीनजना सांसदले फेसबुक म्यासेन्जरबाटै जवाफ फर्काएका छन्। एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङमार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ उनीहरुले म्यासेन्जरबाटै दिएका हुन्। 

ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका थप तीन सांसदलाई यही वैशाख १६ गते स्पष्टीकरण सोधेका थिए। ओलीको निर्देशनमा एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले फेसबुक म्यासेन्जरबाट सांसदहरुलाई स्पष्टीकरण सोधेका थिए।

समिना हुसेन कलीला खातुन गंगा चौधरी सतगवा

ओलीले सांसदहरु गङ्गा चौधरी सतगौवा, कलिला खातुन र समिना हुसेनलाई ‘अर्को पार्टीमा लागेको हो ?’ भनेर स्पष्टीकरण सोधेका थिए।  उनीहरुले आफूहरुलाई म्यासेन्जरबाट स्पष्टीकरण सोधिएको बताएका छन्। ‘पछिल्लो पटक हामी तीनजनालाई स्पष्टीकरण सोधिएको रहेछ’, उनले भनिन्, ‘मैले त म्यासेन्जर पनि हेरेकी थिइनँ, कलिला माननीयले खबर गरेपछि थाहा पाएकी हुँ।’

उनीहरु तीनैजनालाई तीन दिनको समय दिएर स्पष्टीकरण सोधिएको थियो। तीनैले भोलिपल्ट नै म्यासेन्जरबाटै जवाफ फर्काएर आफूहरु एमालेमै रहेको र विश्वासको मत पनि दिने प्रतिवद्धता जनाएका छन्। 

एमालेले स्पष्टीकरणमा उनीहरुमाथि विधि,पद्धति र पार्टी हित विपरीतका गतिविधिमा संलग्न रहेर समानान्तर कमिटी बनाएको आरोप लगाएको थियो। ‘स्पष्टीकरणको व्यहोरा त लामो छ। सबै बताउन सम्भव हुँदैन’, समिनाले अगाडि भनिन्, ‘यसको सार चाहिँ पार्टी हित विपरीत काम गर्दै समानान्तर गतिविधिमा लागेको उल्लेख छ।’

उनीहरुले समानान्तर गतिविधिमा नलागेको जवाफ पठाउँदै एमालेमै रहने प्रतिवद्ध जनाएका छन्। उनीहरुले त्यही व्यहोराको जवाफ दिएका हुन्।

तीनजनालाई मात्रै स्पष्टीकरण सोधिएकामा उनीहरुले पनि अनौठो मानेका छन्। ‘खै किन सोधियो अचम्ममा परेका छौँ। अरु कुरा त मलाई पनि थाहा छैन तर म एमालेमै प्रतिवद्ध छु,’ कलिलाले भनिन्, ‘अहिले पनि पार्टी काममै छु। पार्टी अध्यक्षज्यूलाई केही लागेको होला, किन र के का लागि स्पष्टीकरण सोधियो थाहा छैन।’

उनीहरुले पार्टीको संस्थागत कुरा कसैको घरको व्यक्तिगत जस्तो शैलीमा स्पष्टीकरण सोधिएको गुनासो गरेका छन्। कर्णालीमा झैँ संघीय संसदमा पनि फ्लोर क्रस हुने अनुमानसहित ओलीले सांसदहरुलाई स्पष्टीकरण सोधेका हुन्। 

प्रधानमन्त्रीले यही वैशाख २७ गते विश्वासको मत लिँदै छन्। उनीहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिने पनि बताएका छन्। ओलीले यसअघि वरिष्ठ नेता नेपालसहित २७ जना सांसदसँग स्पष्टीकरण लिइसकेका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here