एमाले महाधिवेशनको उदघाटन अवधिभर गाडी मुख्य बजार क्षेत्रभित्र प्रवेशमा रोक

८ मंसिर, काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनको उदघाटन समारोह अवधिभर सार्वजनिक तथा निजी गाडीहरूलाई नारायणगढ बजार क्षेत्रभित्र प्रवेशमा रोक लगाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले भिड व्यवस्थापन र सुरक्षाका लागि भन्दै मुख्य बजार क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका गाडीहरू प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

frontline

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाट समारोह यही मंसिर १० गते नारायणगढको नारायणी नदी किनारमा आयोजना हुँदै छ । यो दिन मानिसहरूको भिड व्यवस्थापन चुनौतीपूर्ण हुने भन्दै चितवन प्रशासनले सवारी साधन सन्चालनमै रोक लगाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले मंसिर १० गते बिहान १० बजेदेखि पश्चिम नेपालबाट आउने गाडीहरूलाई पूर्वी नवलपरासीको गैंडाकोट क्षेत्रमा र पूर्वबाट आउने गाडीहरूलाई भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा रोकिने जानकारी दिए ।

यसैगरी काठमाडौं वा पोखराबाट मुग्लिन हुँदै यात्रा गर्ने गाडीहरूलाई आँपटारी र पूर्वबाट आउने गाडीहरूलाई जिल्ला प्रशासन कार्यालय चोकदेखि भित्र प्रवेश गर्न नदिइने बताए । पूर्वी नेपालतर्फ आउ-जाउ गर्नेहरूले आँपटारी-बाइपास रोड हुँदै यात्रा गर्न सक्ने प्रजिअ तामाङले बताए ।

नेकपा एमालेले महाधिवेशन उदघाटन समारोहमा १० लाख मानिस उतार्ने घोषणा गरेको छ । त्यो दिन मानिसहरूको भिड र पार्किङ व्यवस्थापनलाई अधिकारीहरूले प्रमुख चुनौती मानेका छन् ।

भिड व्यवस्थापनका लागि गृह मन्त्रालय र छिमेकी जिल्ला प्रशासन कार्यालयहरूसँग समन्वय गरिएको प्रजिअ तामाङले बताए ।

गाडी नचलाइदिन अनुरोध

उदघाटन समारोह साँझ ५ बजेसम्मै चल्ने अनुमान छ । त्यसैले नारायणगढको मुख्य बजार क्षेत्रभित्रको ट्राफिक व्यवस्थापन बेलुकासम्मै प्रभावित हुने अनुमान छ । त्यसैले चितवन प्रशासनले १० गतेको दिन सकेसम्म गाडी नचलाइदिन र नारायणगढ बजार क्षेत्र भएर यात्रा नगरिदिन अनुरोध गरेको छ ।

‘भिडभाडको व्यवस्थापन र मानवीय सुरक्षा प्रमुख चुनौती छ । त्यसैले त्यो दिन सकेसम्म गाडीहरू नचलाइदिनू भनेर अनुरोध गरेका छौं,’ प्रजिअ तामाङले भने, ‘त्यो दिन १० बजेपछि पश्चिमबाट आउने गाडीहरूलाई नारायणी पुलबाट क्रस गर्न हामी दिन्नौं ।

पूर्वी नेपालबाट आउने गाडीहरूलाई जिल्ला प्रशासन कार्यालय चोकबाट पश्चिम छिर्न दिन्नौं ।’ पश्चिम चितवनबाट आउने गाडीहरू भरतपुरको त्रिचोक, बेलचोक र बाह्रघरे क्षेत्रमा रोकिनुपर्ने छ ।

जिल्ला प्रशासन कार्यालयको यो निर्णयबाट सबैभन्दा बढी प्रभावित पश्चिम नेपालबाट यात्रा गर्नेहरू हुनेछन् । उनीहरू काठमाडौंतर्फ आउनुपर्ने भएमा बुटवल-पाल्पा-पोखरा-मुग्लिन हुँदै यात्रा गर्नुपर्ने छ ।

यसरी घुमाउरो बाटो प्रयोग नगर्ने भए एमालेको महाधिवेशन उदघाटन समारोह अवधिभर बाटोमै कुरेर बस्नुपर्ने छ । त्यो दिन सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न वा समय मिलाएर गाडीहरू छाड्न छिमेकी जिल्ला प्रशासन कार्यालयहरूलाई पनि भनिएको चितवनका प्रजिअ तामाङले बताए ।

गैंडाकोटतर्फको नारायणी किनार, आँपटारी, भरतपुर केन्द्रीय बस टर्मिनल, त्रिचोकसम्मको क्षेत्रलाई जिल्ला प्रशासन कार्यालयले कोर एरिया तोकेको छ ।

महाधिवेशनमा आउनेहरूका लागि यिनै स्थानमा पार्किङ क्षेत्र तोकिएको छ । पार्किङ क्षेत्रमै पनि महाधिवेशनको उदघाटन समारोहलाई हेर्न मिल्ने गरी डिस्प्ले बोर्ड राखिने भनेर आयोजकले जनाएको प्रजिअ तामाङले बताए ।

महाधिवेशनको उदघाटन समारोह नारायणगढ नदी किनारमा र बन्दसत्र सौराहामा हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here