एमसीसी परियोजना स्वीकार छैन : नारायणकाजी श्रेष्ठ
२१ कार्तिक, काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अहिलेकै अवस्थामा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन–एमसीसी स्वीकार नगर्ने बताउनुभएको छ ।
श्रेष्ठले सामाजिक सञ्जाल ट्विटर मार्फत नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवं राष्ट्रिय हित विपरीतका प्रावधानहरू नसच्याइ अहिलेकै अवस्थामा एमसीसी परियोजना स्वीकार नगर्ने बताउनुभएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप २६ मा भाग लिएर स्कटल्यान्डबाट स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमसीसीबारे दिनुभएको प्रतिक्रिया पछि एमसीसीबारे श्रेष्ठको यस्तो धारणा आएको हो ।
प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्छौँ भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आफूले पत्र पठाइसकेको बताउनुभएको थियो ।
तर त्यसको खण्डन गर्दै हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले एमसीसी पारित गर्ने भनेर नभई राष्ट्रिय सहमति जुटाएर मात्र पारित गर्ने भनेको बताउनुभयो ।उहाँले पनि अहिलेकै अवस्थामा एमसीसी पारित नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्