एक्स्काभेटरको बकेटले हिर्काएर सर्लाहीको वडा अध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको एक्स्काभेटरको बकेटले हिर्काएर हत्या भएको छ ।

सामान्य विवादमा एक्स्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको सर्लाही प्रहरीका एसपी सन्तोषसिंह राठोरले जानकारी दिए ।

frontline

एसपी राठोरका अनुसार चालक तामाङसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

सर्लाही प्रहरीका अनुसार गत शुक्रबार राति वडाध्यक्ष श्रेष्ठ ईश्वरपुर नगरपालिका ३ भक्तिपुर भन्ने स्थानमा पोखरी सौन्दर्यीकरणको काम हेर्न भनेर गएको थियो ।

नगरपालिकाको बजेटबाट भइरहेको पोखरी सौन्दर्यीकरणको काम हेर्न भनेर वडाध्यक्ष श्रेष्ठसँगै ठेकेदार प्रेमराज दाहाल पनि गएका थिए ।

त्यही क्रममा सामान्य विवादमा एक्स्काभेटर चालकले श्रेष्ठको टाउको र छातिमा बकेट प्रहार गरेको प्रहरीको भनाइ छ ।

नगरपालिका प्रमुख मनोज कुमार देवकोटाका अनुसार पोखरी हेर्न जानुअघि शुक्रबार साँझ गाउँकै एक होटलमा वडाध्यक्ष श्रेष्ठ, ठेकदार दाहाल र एक्स्काभेटर चालक तामाङले खाजा खाएका थिए ।

खाजा खानेक्रममै श्रेष्ठ र तामाङबीच सामान्य भनाभन भएको थियो । खाजा खाएर उनीहरु पोखरी हेर्न गए ।

पोखरी हेरेर फर्किने क्रममा चालक तामाङले श्रेष्ठको टाउको र छातीमा बकेटले हिर्काएको नगरप्रमुख देवकोटाले बताए ।

एसपी राठोरले हत्याको कारण पोखरीको विवाद वा अन्य राजनीतिक कारण भएको नखुलेको बताए ।

यद्यपि चालक तामाङ र ठेकेदार दाहाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ईश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरमा मुखलाल दास पोखरीको मर्मत सम्भारको काम भइरहेको छ ।

सिंचाइका लागि पानी जम्मा गर्न सो पोखरी निर्माण गरिएको थियो ।

नगरपालिकाको बजेटमा हाल सो पोखरीको मर्मत सम्भार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here