ए डिभिजन लिग : नवौं चरणका खेलहरु सुरु हुँदै, खेलाडी बिरामी हुँदा प्रशिक्षण प्रभावित

फाइल तस्बिर

३० पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजबाट नवौं चरणका खेलहरु सुरु हुँदैछन्। दशरथ रंगशालामा अबको चार दिन ७ वटा खेलहरु हुनेछन्।

यसअघिका खेलाहरु दर्शकको उपस्थितिमा नै भएको थियो। तर, कोभिड १९ महामारी पनि पछिल्लो सातायता ह्वात्तै बढेको अवस्थामा काठमाडौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २५ जना भन्दा धेरै उपस्थिति हुन रोक लगाएको छ।

frontline

यस्तो अवस्थामा अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने दर्शकको उपस्थितिलाई लिएर कुनै निर्णय गरेको छैन।  

माघ ३ गते नै लिगको नवौं चरणको खेलहरु अन्त्य हुँदैछन्। प्रशासनले भने रंगशाला प्रवेशमा माघ ७ गतेदेखि कडाइ गरेको छ।

त्यसदिन देखि नै खोप कार्ड देखाएरमात्रै रंगशालामा प्रवेश दिइनेछ। माघ ३ गते नै यो चरणका खेलहरु समाप्त हुने भएकाले एन्फाले यसबारेमा कुनै आधिकारिक धारणा नबनाएको बुझिएको छ।

नवौं चरणमा दर्शकको उपस्थिति बारे बुझ्न खोज्दा एन्फाका कुनै पदाधिकारी उपलब्ध भएनन्।

लिगको क्लबमै पुग्यो कोरोना

कोरोनाले फुटबल क्षेत्रलाई नछोएको भन्ने होइन। च्यासल युथ क्लबका दुई जना खेलाडी कोभिड संक्रमित भएको उक्त क्लबका सहायक प्रशिक्षक आशिफ थापामगरले जनाकारी दिएका छन्।

अरु क्रमहरु पनि कोरोनाको त्रासमा छन्। जावलाखेल युथ क्लबका प्रशिक्षक किसोरकुमार केसीले आफूलाई पनि रुघाखोकी लागिरहेको बताउँदै बिहीवारको अभ्यासमा कम खेलाडीको मात्र उपस्थिति रहेको बताए।

‘ट्रेनिङ त राम्रै चलिरहेको छ। चिसोले गर्दा विरामी पनि छन्। आज १४ जनालाई मात्र ट्रेनिङ गराइरहेको छ। धेरैलाई रुघा लागिरहेको छ’ केसीले भने।

जावलाखेलले अर्को खेल न्युरोड टिम एनआरटीसँग खेल्दैछ। एनआरटीको पनि कथा फरक भने छैन। एनआरटीका प्रशिक्षक राजुकाजी शाक्य आफ्नो क्लबमा पनि खेलाडीहरु बिरामी भइरहेको बताउँछन्।

‘कुनै क्लबमा कोरोना लागेको छ भन्ने सुनिएको छ। मेरोमा पनि डाइरिया लाग्ने ज्वरो आउने भइरहेको छ। यसमा खेलाडीले ध्यान दिनुपर्छ। के खाने के नखाने भन्ने कुराहरुमा ध्यान दिनुपर्छ’ शाक्यले भने।

आज दुई खेल

लिगमा आज दुईवटा खेल हुँदैछन्। दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र विभागीय टोली एपीएफ पहिलो खेलमा आमनेसामने हुँदैछन्।

खेल दिउँसो १ बजे सुरु हुनेछ। त्यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र सातदोबाटो युथ क्लब साँझ पौने ५ बजे आमनेसामने हुँदैछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here