उपप्राध्यापक पदको परीक्षा अन्तिम समयमा स्थगित

२१  फागुन, काठमाडौं । त्रिवि सेवा आयोगले भोलिदेखि सञ्चालन गर्ने तयारी गरेको उपप्राध्यापक पदको परीक्षा अन्तिम समयमा स्थगित गरेको छ ।

फागुन  २२ गतेदेखि चैत ७ गतेसम्मको परीक्षा चैत २४ गतेसम्मका लागि स्थगित गरिएको हो ।

frontline

त्रिवि सेवा आयोगले भने परीक्षा स्थगित नभई तालिका परिमार्जन गरिएको जनाएको छ । आंशिक प्राध्यापकहरुले गरेको तालाबन्दीको कारण परीक्षा गर्न सक्ने अवस्था नरहेकाले तालिका परिमार्जन गर्नु परेको सेवा आयोगका कार्यालय प्रमुख केदार ढकालले बताए ।

उनले भने, ‘तालाबन्दीको कारण आन्तरिक तयारी गर्न सकेनौं जसको कारण परीक्षा सञ्चालन गर्न सकिने अवस्था नभएपछि पछि सारिएको हो ।’

त्रिवि सेवा आयोगले फागुन २२ गतेदेखि चैत २३ गतेसम्मलाई परीक्षाको समय तालिका सार्वजनिक गरेको थियो । त्यसका लागि परीक्षार्थीहरु देशभरबाट काठमाडौं आएका थिए । परीक्षा अन्तिम समयमा स्थगित गरिएपछि उनीहरु मर्कामा परेका छन् ।

इन्जिनियरिङ विषयका एकजना परीक्षार्थीले भने, ‘भोलि बिहान ७ बजेदेखि परीक्षा थियो, आज बेलुकी परीक्षा स्थगित भएको नोटिस निकालियो । यो त लापरवाहीको हद हो ।’

सेवा आयोगका कार्यालय प्रमुख ढकालले विभिन्न जिल्लाबाट आएका परीक्षार्थीहरुलाई ध्यानमा राखेर पूर्वनिर्धारित मितिमै परीक्षा गराउने प्रयास गरे पनि नसकेपछि अन्तिम समयमा तालिका संशोधन गर्न बाध्य भएको बताए ।

चैत ८ गतेदेखि २३ गतेसम्म हुने परीक्षालाई भने यथावत राखिएको र त्यसअघि तय भएको परीक्षा मात्रै पछाडि सारिएको त्रिवि सेवा आयोगका कार्यालय प्रमुख ढकालले बताए ।

आंशिक प्राध्यापकहरुले त्रिवि सेवा आयोगले लिने परीक्षाको पाठ्यक्रम परिमार्जनको माग राख्दै माघ २३ गतेदेखि तालाबन्दी गरेका छन् ।

आंशिक प्राध्यापक त्रिवि संघर्ष समितिका अध्यक्ष गोकुल लिम्बुले त्रिवि सेवा आयोगले संघर्ष समितिसँग बिना छलफल परीक्षा सारेको बताएका छन् ।

उनले भने, ‘हिजो वार्तामा बस्ने कुरा भएको थियो । तर आजसम्म पनि वार्ता भएन । परीक्षा गराउन नसक्ने अवस्था भएपछि एकलौटी ढंगले परीक्षा सारेको छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here