उपचारका लागि आँखा र कानका बिरामी खोज्दै रोङ गाउँपालिका

इलामको रोङ गाउँपालिकाले गाउँपालिकाभित्र रहेका आँखा र कानका बिरामी खोज्न थालेको छ। मंगलबारबाट गाउँपालिकामा शिविर आयोजना गरेर आँखा र कानका बिरामी खोज्न सुरु गरेको हो।

रोङ– १ बाट सुरु भएको अभियान ४० दिनसम्म चल्नेछ। गाउँपालिकाभित्रको ६ वटै वडाका ३५ स्थानमा शिविर राखेर आँखा र कानका बिरामी खोजिने गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले बताए। नेत्र ज्याेति संघ इलाम र विराटनगर आँखा अस्पतालको सहयोगमा गाउँपालिकाले शिविर सञ्चालन गरेको हो।

frontline

शिविरमा दुई विशेषज्ञ चिकित्सकसमेत छन्। ‘नागरिकले उत्साहजनक सहभागिता जनाएका छन्,’ अध्यक्ष स्याङ्बोले भने, ‘हामी गाउँ-गाउँमा पुगेर ४० दिनसम्म बिरामी खोज्छौँ।’

शिविरमा भेटिएका आँखा र कानका बिरामीको उपचारमा पनि गाउँपालिकाले सहयोग गर्ने उनले बताए। ‘सामान्य समस्या देखिएकालाई नेत्र ज्योति संघले फिक्कलमा सञ्चालन गरेको अस्पताल र अर्जुनधारामा सञ्चालन गरेको अस्पतालमा लगेर उपचार गर्नेछौँ,’ उनले भने, ‘ठूलो समस्या देखिएमा पालिकाले सबैलाई भेला गरेर उपचार गर्नेछ।’

आँखा र कानको बिरामीलाई समयमै पत्ता लगाएर थप जटिल समस्या हुन नदिन शिविरको आयोजना गरिएको अध्यक्ष स्याङ्बोको भनाइ छ। ‘आँखा र कानमा समस्या देखिएमा उपचार गर्न झापा नै झर्नुपर्ने बाध्यता छ। तसर्थ, धेरै नागरिक आँखा र कानको समस्या पालेर बस्नुपर्ने अवस्था छ। समयमै रोगबारे जानकारी हुँदा थोरै खर्चमा उपचार गर्न सकिन्छ,’ उनले भने, ‘तर, समय बित्दै गएपछि आँखा र कानजस्तो संवेदनशील अंगमा थप समस्या हुन सक्छ। प्रारम्भिक चरणमै रोग पत्ता लागेमा उपचार गर्न सकिन्छ भनेर हामीले शिविर सञ्चालन गरेका हौँ।’

शिविरमा रोङभित्रका १० हजार नागरिकले सेवा लिने अनुमान गरिएको अध्यक्ष स्याङ्बोले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here