उदयपुरका स्थानीय तहले कोरोनाविरुद्धको खोप आफैं किन्ने

उदयपुर । उदयपुरका स्थानीय तहले कोरोनाविरुद्धको खोप आफैं किन्ने तयारी गरेका छन् । उदयपुर विकास बोर्डको मंगलबार बसेको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो ।

त्रियुगाका नगरप्रमुख बलदेव चौधरीको अध्यक्षतामा गत वर्ष गठित बोर्डमा जिल्लाका ८ वटै स्थानीय तह सदस्य छन् । बैठकले आगामी आर्थिक वर्ष पूर्वाधार विकासतर्फको बजेटमार्फत कोरोना खोप व्यवस्थापन गर्ने गरी रकम विनियोजन गर्ने निर्णय गरेको छ ।

frontline

चार नगर र चार गाउँपालिकामा करिब ३ लाख जनसंख्यामध्ये २ लाखलाई खोप दिन बजेट विनियोजन गरी स्वीकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको बोर्डका सदस्य सचिवसमेत रहेका चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले बताए ।

यस्तै बेलका नगरपालिकामा अक्सिजन प्लान्ट राख्न ४ नगरपालिकाबाट १०–१० लाख र ४ गाउँपालिकाबाट ५–५ लाख रुपैयाँ विनियोजन गर्ने पनि निर्णय भएको पनि उनले बताए ।

अक्सिजन प्लान्ट चालु आर्थिक वर्षको बजेटबाटै राख्ने निर्णय भएको हो । गत वर्ष बोर्ड सदस्य मिलेर चौदण्डीगढी–६ बेल्टारमा स्थापना गरेको ४० शय्याको कोभिड अस्पताल सञ्चालनमा छ । स्थानीय तहले त्यसमा १ करोड र स्वीस सरकारको डेढ करोड रुपैयाँ सहयोग थियो ।

कोरोनाको दोस्रो लहरयता उदयपुरमा १४ जनाको मृत्यु भएको छ । संक्रमित ४ सय ९२ जनामध्ये २६ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here