इन्चार्जको जिम्मेवारी माओवादी नेता भट्टलाई दिने अध्यक्ष ओलीको निर्णयपछि चिढिए भीम रावल

फाइल तस्बिर

काठमाडौं । सुदुरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी पूर्व माओवादी नेता लेखराज भट्ट दिने पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयपछि नेकपा (एमाले) उपाध्यक्ष भीम रावल नराम्ररी चिढिनुभएको छ ।

१० बुँदे सहमति कार्यान्वयनको प्रतिवद्धताबाट ओली पछि हट्ने देखिएपछि रावलसहितका नेताहरू कुनै पनि बेला अकल्पनीय निर्णयमा पुग्ने देखिएको छ ।

frontline

पार्टीमा चर्किएको मतभेद मत्थर पार्न गत असार २७ गते मध्यरातमा अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको संलग्नतामा बनेको कार्यदलले १० बुँदे सहमति जुटायो ।

पार्टी विधानको व्यवस्था बमोजिम २ जेठ ०७५ को संगठनात्मक अवस्थाबाट क्रियाशील हुने सहमतिपछि नेपाललाई थपक्क छोडेर उपाध्यक्ष भीम रावलसहितका नेताहरू मूल पार्टीमै रहे ।

समय क्रममा फेरि उपाध्यक्ष रावल झस्किने अवस्था सिर्जना भयो । १० बुँदे सहमति विपरीत अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा भट्टलाई नै निरन्तरता दिने निर्णय लिएपछि रावलले झड्का महसुस गर्नुभएको छ । ओली र रावलबीच अविश्वास झनै बढेको छ ।

सर्वोच्च अदालतको गत फागुन २३ को फैसलाले एमाले पार्टी पुनर्जीवित गराएपछि उपाध्यक्ष रावललाई प्रदेश इन्चार्जबाट हटाएर भट्टलाई जिम्मेवारी तोकिएको थियो । अहिले पनि आफू नै इन्चार्ज रहेको भट्ट बताउनुहुन्छ । आफूलाई पार्टी अध्यक्ष ओलीले तपाईं नै सुदूरपश्चिमको इन्चार्ज भएको बताएको उहाँको भनाइ छ ।

पूर्व माओवादी नेतालाई काखी च्याप्ने, एमालेकै नेतालाई लखेट्ने नीति ओलीले लिएको भन्दै उपाध्यक्ष रावलसहितका नेताहरू फेरि विद्रोहको बाटोमा जाने सम्भावना टड्कारो बनेको छ ।

ओली निकट नेता विशाल भट्टराई भने त्यो सम्भावना देख्नुहुन्न । उहाँ भन्नुहुन्छ, ‘पार्टीबाट अब कोही पनि बाहिरिँदैन, बरु अन्य पार्टीका मानिसहरू पनि एमालेमा आउने क्रम सुरु भएको छ ।’

यो त ओलीपथ पछ्याउनेको तर्क भयो, रावल भने अहिले सुदुरपश्चिम प्रदेशमा एमालेभित्र देखिएको अन्तरर्विरोध चिर्न लाग्नुपर्ने अवस्था आएको बताउनुहुन्छ । ओलीको पछिल्लो निर्णयप्रति घुमाउरो पारामा आएको रावलको असन्तुष्टि हो यो ।

फेरि धोका पाएका रावलसहितका नेताले कुनै अकल्पनीय निर्णय लिएमा आश्चर्य हुने छैन । त्यो विद्रोह रोक्ने उपाय भनेको १० बुँदे सहमतिको इमान्दारीपूर्वक पालना नै हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here