आफ्ना नागरिकलाई स्वदेश लैजान अमेरिकाले पठायो ३ हजार सेना
शनिबार, काबुल । अफगानिस्तानमा तालिबानी प्रभाव बढिरहँदा अमेरिकी सैनिकहरु आफ्ना नागरिकलाई स्वदेश लैजान काबुल पुगेका छन् ।
अमेरिकी दूतावासका अधिकारीका अनुसार काबुलमा रहेका अमेरिकी कर्मचारी र अन्य नागरिकलाई लैजान अमेरिकी फौज शनिबार काबुल आइपुगेको हो ।
तालिबान लडाकूले अफगानिस्तानका दोस्रो र तेस्रो ठूला सहर कब्जामा लिएपछि अमेरिकाले आफ्ना नागरिकलाई लैजान सेना पठाएको हो ।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार समुद्री सेनाको दुई बटालियन र स्थल सेनाको एक बटालियन गरी करिब ३ हजार सैनिक आइतबार साँझसम्म काबुल पुग्नेछ । शनिबार भने केही सैनिक काबुल अवतरण गरिसकेका छन् ।
बेलायत र अन्य पश्चिमा देशहरुले आफ्ना नागरिकलाई अफगानिस्तानबाट फिर्ता लैजान सैनिकहरु पठाउँदै छन् ।
अफगान सरकारका अधिकारीहरुका अनुसार शुक्रबार आर्थिक केन्द्र मानिएको कान्दहर सहरलाई पनि तालिबानले कब्जामा लिइसकेको छ ।
शान्ति सुरक्षाका लागि भन्दै अमेरिकी सेना २० वर्षसम्म अफगानिस्तानमा तैनाथ थियो ।
यही वर्षमा अमेरिकी सेनाले अफगानिस्तानको भूमि पूर्ण रुपमा छाड्नुअघि तालिबान लडाकूले अफगानिस्तानका दर्जनौँ भूभाग कब्जामा लिइसकेका थिए ।
पछिल्लो समय अफगानिस्तानका अधिकांश सहर तालिबानले कब्जामा लिइसकेको बताइएको छ ।
राजधानी काबुल समेत केही महिनामै कब्जामा लिनसक्ने आंकलन गरिएको छ ।
यसबीचमा लाखौँ अफगानीहरुले सुरक्षाको लागि आफ्नो ठाउँ छाडेर बसाइँ सरिसकेका छन् ।
यही वर्ष मात्रै ४ लाख मानिस सुरक्षाका लागि घर छाड्न बाध्य भएका छन् ।
मे महिनायता मात्रै २ लाख ५० हजारले घर छाडिसकेका छन् ।
अफगानिस्तानमा यस्तै किसिमले तालिबान प्रभाव बढ्दै जाँदा यहाँको भविष्य नै संकटमा पर्ने विभिन्न अन्तर्राष्ट्रिय मिडियाले दावी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्