आफैंले संसद्‌मा बोलेको कुरा रास्वपाले भोलि गृहमन्त्रीलाई सम्झाउने

संसद्मा प्रस्तुत हुनेबारे रणनीतिक तयारी हुँदै

‘गृहमन्त्रीबारे हाम्रो रणनीति के हुने भन्ने विषयमा आवश्यक छलफल गर्‍यौं,’ बैठकपछि सांसद झाले भने, ‘सबैको अभिमत सुनेर नेतागणले रणनीतिक तयारी गरिरहेका छौं ।’

१२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकलाई प्रश्न गर्ने भएको छ ।

frontline

आफूहरूसँग भएको सूचना र प्रमाणका आधारमा पछिल्लो पटक गृहमन्त्री लेखकको बारेमा भिजिट भिसाका विषयमा आएका विषयवस्तुबारे प्रश्न गर्ने रास्वपा सांसद मनीष झाले बताए ।

सोमबार बसेको पार्टीको संसदीय दलको बैठकमा भोलिको संसद् बैठकमा गृहमन्त्रीबारे कसरी प्रस्तुत हुने भन्नेबारे विस्तृत छलफल भएको बताए ।

‘गृहमन्त्रीबारे हाम्रो रणनीति के हुने भन्ने विषयमा आवश्यक छलफल गर्‍यौं,’ बैठकपछि सांसद झाले भने, ‘सबैको अभिमत सुनेर नेतागणले रणनीतिक तयारी गरिरहेका छौं ।’

साथै, रास्वपाले यसअघि गृहमन्त्री लेखकले आफ्ना सभापति रवि लामिछानेमाथि उठाएको प्रश्न सम्झाउने पनि बताएको छ ।

‘विगतमा कुनै पनि प्रश्न उठ्दा नेताले राजीनामा दिएर प्रक्रियालाई सघाउनुपर्छ भनेर गरिएको वर्तमान गृहमन्त्रीले एक वर्षअघि सदनमा भन्नुभएको थियो,’ सांसद झाले भने, ‘त्यो हामी सम्झाउँछौं । हिजो यस्तो भन्नुहुन्थ्यो आज किन नदिनुभएको भनेर हामीले स्मरण गराउँछौं ।’

उनले पहिला प्रश्न सोध्न पाउनुपर्ने र त्यसपछि मात्रै गृहमन्त्रीले जवाफ दिनुपर्ने पनि बताए ।

‘पहिलो कुरा हामीले प्रश्न सोध्न त पाउनुपर्‍यो । अनि उहाँले जवाफ दिनुपर्छ,’ झाले भने, ‘हामीले सोध्दै नसोधेको जवाफको तयारी घरबाट गरेर आएर दिने कुरा त हुँदैन होला नि । हामीले प्रश्न सोध्न पाउनुपर्छ ।’

गतवर्ष आफ्नो पार्टीको सभापति रवि लामिछानेबारे प्रश्न उठ्दा २२ वटा बैठक कांग्रेसले अवरोध गरेको पनि भोलि स्मरण गराइने झाले बताएका छन् ।

रास्वपाले यसअघि नै गृहमन्त्री लेखकको राजीनामा माग गर्ने निर्णय गरिसकेको छ ।

गृहमन्त्री |रास्वपा

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here