आज स्वर्गीय पूर्वराजा विरेन्द्र शाहको ७६ औं जन्मजयन्ती

१४ पुस, काठमाडौं । स्वर्गीय राजा विरेन्द्र शाहको ७६ औं जन्मजयन्तीमा विवेकशिल साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले उनको देश÷विदेशमा हरेको अथाह सम्पत्ति सम्झिएका छन् ।

अध्यक्ष मिश्रले आज फेसबुकमा एक स्टाटस लेखेर वीरेन्द्र शाह प्रति श्रद्धाञ्जली प्रकट गर्दै अथाह सम्पत्ति नभेटिएको विषयलाई सम्झिएका हुन् । 

frontline

‘उनीसँग मेरो कहिल्यै भेट भएन। बरू, बेलाबखत लेखहरूमा आलोचना गरेँ। पछि, मध्यम वर्गीय उनको सयनकक्ष देखेर छक्क परेँ’, उनले लेखेका छन्, ‘उनका सारा सम्पत्तिको खोजतलास हुँदा व्यापकरूपमा फैल्याएको कथ्य झैँ देश÷विदेशमा उनको ‘पम्फादेवीरूपी’ अथाह सम्पत्ति नभेटिएपछि, कलेज पढ्दा उनीमाथि लगाइएका आरोपहरू सम्झिएँ।’ 

अध्यक्ष मिश्रले राजा वीरेन्द्रलाई श्रद्धाले हृदय भरिने व्यक्ति भनेका छन् भने २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना हुँदा राजा वीरेन्द्रको धारणा भन्दै एउटा अभिव्यक्ति समेत सार्वजनिक गरेका छन् ।

उनले लेखेका छन् – ‘विदेशी सामू झुक्नु भन्दा नेपाली जनताकै सामू झुक्छु’ २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना हुँदा राजा वीरेन्द्रको धारणा।’ 

बुबा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म २००२ साल पुस १४ मा भएको थियो । २०२८ सालमा नेपालको राजा बनेका उनले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गरेका थिए ।

त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा चिनिन्छ ।

इतिहासकै अकल्पनीय घटनाका रूपमा २०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंशनाश भएको थियो । तत्कालीन रानी ऐश्वर्य, युवराज, दीपेन्द्र अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ । त्यो दिनलाई नेपाली जनताले अहिले पनि कालो दिनका रूपमा सम्झिरहेका छन् ।

राजा वीरेन्द्रको हत्या हुँदा देशमा तत्कालिन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्ध चरम उत्कर्षमा रहेको थियो ।

विरेन्द्रको वंशनासपछि माओवादीका नेता डा. बाबुराम भट्टराइले राजा विरेन्द्रसंग आफूहरुको कार्यगत एकता भएको भन्दै कान्तिपुरमा लेखेको लेखले ठूलो चर्चा पाएको थियो । 

‘कतिपय मार्क्सवादी पण्डाहरूसमेतले यसै आधारमा हामीलाई राजावादी भनेपनि अब हामी निर्धक्क साथ के भन्न सक्छौ भने कतिपय राष्ट्रिय प्रश्नहरुमा राजा वीरेन्द्र र हाम्राबीचमा समान सोंचाइहरू थिए र त्यसले कतिपय प्रसङ्गहरुमा हामीलाई अघोषित कार्यगत एकता गराइरहेको थियो’, उनको लेखमा लेखिएको छ, ‘यो कुराबाट विस्तारवादीहरू र तिनीहरूका दलालहरू त्रसित हुनु विल्कुल स्वाभाविक थियो ।’

डा. भट्टराइले २०४६ को एकतर्फी भारतीय आर्थिक नाकावन्दी र त्यसपछिको जनआन्दोलनको बेला उनले विस्तारवादीहरूको सामुन्ने झुक्नु भन्दा आफ्नै जनताको सामु झुक्ने जुन प्रतिवद्धता देखाए, त्यो विस्तारवादीहरूलाई पट्टक्कै मन नपरिरेको बताएका थिए । 

आज स्वर्गीय राजा बीरेन्द्रको सम्झनामा राजधानीको हनुमानढोका, मखन पशुपतिनाथमा माल्यार्पण तथा विशेष पूजाको आयोजना हुँदै छ ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here