आज कोजाग्रत पूर्णिमा, दसैंको अन्तिम दिन
काठमाडौं : नेपालीहरूको महान् पर्व बडादसैं (दुर्गा पक्ष) आज धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना र रात्रि जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा (कौमुदी पूर्णिमा) का अवसरमा आज साँझ महालक्ष्मीको विशेष पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैं पर्व समापन हुन्छ। धार्मिक विश्वासअनुसार आजको रात महालक्ष्मीले पृथ्वी भ्रमण गर्ने र जाग्राम बसेका भक्तजनका घरमा प्रवेश गरी धन तथा ऐश्वर्य प्रदान गरी सम्पन्न बनाउने गर्छिन्। यस दिन महालक्ष्मीका साथै ऐरावत हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आजै शास्त्रानुसार गरिने अखिल बलिपूर्तिको काम सम्पन्न हुनेछ। यससँगै विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने १५ दिन लामो क्रम पनि आजैबाट समाप्त हुन्छ। आज बिहानै दसैंघरका सम्पूर्ण फूलप्रसाद र जमराको अवशेष नजिकैको नदी, तलाउ वा पोखरीजस्ता पवित्र तीर्थस्थलमा लगेर विसर्जन (सेलाउने) गरिन्छ।






प्रतिक्रिया दिनुहोस्