असोजको पहिलो साता स्थानीय तह उपनिर्वाचनको मिति तोक्छौँ : प्रमुख आयुक्त थपलिया

काठमाडाैँ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले स्थानीय तहमा रिक्त स्थानका लागि आगामी असोजको पहिलो साता उपनिर्वाचनको मिति तोक्ने बताएका छन् ।

प्रमुख आयुक्त थपलियाले यसअघि प्रधानमन्त्री र गृहमन्त्रीसँग भएको भेटमा मंसिर तेश्रो सातातिर निर्वाचन गर्नेबारे कुराकानी भएको जानकारी दिए ।

frontline

आयोगले निर्वाचनको तयारीका लागि स्थानीय तहमा जनप्रतिनिधि रिक्त रहेको विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग मागेको उनले बताए । यसअघि ३४ ठाउँमा रिक्त भएकोमा त्यसमा थप रिक्त रहेकोबारे जानकारीका लागि आयोगले मन्त्रालयलाई पत्राचार गरेको हो ।

प्रमुख आयुक्त थपलियाले भने, ‘स्थानीय तहको उपनिर्वाचन भएको हुनाले हामीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सबै स्थानीय तहको रिक्त रहेको आधिकारिक विवरण पठाइदिनू भनेर पत्राचार गरेका छौँ । सँगसँगै हाम्रा जिल्लास्थित निर्वाचन कार्यालयबाट फरक नपर्ने गरी विवरण पठाउन भनेका छौँ ।’ अहिले रिक्त रहेका स्थानीय तहका पदको विवरण सङ्कलन भइरहेको उनले बताए ।

आयोगले उपनिर्वाचनका लागि मतदाता विवरण अध्यावधिक गर्ने काम पनि सुरु गरिसकेको छ । त्यसका लागि नगरपालिकाको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष पद रिक्त भएका स्थानीय तहमा १८ वर्ष उमेर पूरा भएका सबै नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आग्रह गरिरहेको थपलियाले बताए ।

आयोगका अनुसार ३४ स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ । काठमाडौँको कीर्तिपुर नगरपालिकामा प्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेख महाबु गाउँपालिकामा अध्यक्ष पद रिक्त छ ।

उनले भने, ‘हामीले निर्वाचन गर्नका लागि तत् ठाउँमा मतदाता नामावलीमा नाम दर्ता गरिहाल्नुस्, भोलि निर्वाचनको घोषणा भएपछि प्रचलित कानुन बमोजिम मतदाता नामावलीमा नाम दर्ता गर्न पाँइदैन । जस्तै हामीले असोज १ गते निर्वाचनको मिति घोषणा गर्यौँ भने त्यसअघि मतदाता नामावलीमा नाम दर्ता भएकाले मात्रै भोट हाल्न पाउँछन् ।’

भदौ महिनाको अन्त्यसम्म रिक्त रहेका पदहरूको एकीकृत विवरण तयार गरेर असोजको पहिलो हप्ता निर्वाचनको मिति घोषणा गर्नेगरी तयारी भइरहेको प्रमुख आयुक्त थपलियाले बताए ।

आयोगले उपनिर्वाचनका लागि कति बजेट लाग्छ, कति ठाउँ छन् भन्नेबारे अध्ययन गरिरहेको छ । यस्तै मतपत्र बाहेक उपनिर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री व्यवस्थापनको काम पनि भइरहेको छ । यसअघि नै प्रयोग भएका र बाँकी रहेका निर्वाचन सामग्री उपनिर्वाचनमा प्रयोग गरिने थपलियाको भनाइ छ ।

आयोगका अनुसार ३४ स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ । काठमाडौँको कीर्तिपुर नगरपालिकामा प्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेख महाबु गाउँपालिकामा अध्यक्ष पद रिक्त छ ।

यस्तै, जाजरकोटको नलगाढ नगरपालिकामा उपप्रमुख तथा दोलखाको गौरीशंकर गाउँपालिका, बाजुरा स्वमीकार्तिक खापर गाउँपालिका र हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष पद रिक्त छ ।

यसबाहेक सात प्रदेशका २८ वटा वडामा अध्यक्ष पद रिक्त छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था अनुसार १ वर्षभन्दा बढी समयावधि बाँकी रहेको जुनसुकै रिक्त पदमा प्रतिनिधि चयनका लागि निर्वाचन गराउनुपर्ने हुन्छ ।

राजनीतिक दलहरू उपनिर्वाचनको तयारीमा जुट्दै

स्थानीय तहको रिक्त पदमा उपनिर्वाचन हुने भएपछि विभिन्न राजनीतिक दलले आन्तरिक तयारी थालेका छन् । भदौ पहिलो साता बसेको राष्ट्रिय स्वतन्त्र पार्र्टीको केन्द्रीय समिति बैठकले स्थानीय तह उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादीले विभिन्न कारणले रिक्त रहेका स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरूको पदपूर्तिका लागि मंसिरको तेस्रो हप्तामा उपनिर्वाचन हुने अवस्था रहेको भन्दै त्यसका लागि आन्तरिक तयारी थालेको छ ।

नेकपा एकीकृत समाजवादीले आन्तरिक परिपत्र जारी गर्दै उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सातै प्रदेशमा कमाण्डर तोकेको छ । वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा  उपाध्यक्षहरू, उपमहासचिवहरू, सचिवहरू, कानुन व्यवसायी तथा पोलिटब्युरो सदस्य समेत सम्मिलित उपनिर्वाचन परिचालन कमिटी गठन भएको छ ।

गत आइतबार बसेको उपनिर्वाचन कमिटीको पहिलो बैठकले पार्टीका उम्मेदवारलाई जिताउन सातै प्रदेशमा कमाण्डर तोकेको महासचिव घनश्याम भुसालले जारी गरेको परिपत्रमा उल्लेख छ ।

स्थानीय तह उपनिर्वाचनका लागि कोशी प्रदेश कमाण्डरमा उपाध्यक्ष जगन्नाथ खतिवडा, मधेस प्रदेश कमाण्डरमा उपाध्यक्ष धर्मनाथ साह, बागमती प्रदेश कमाण्डरमा उपाध्यक्ष डा.गंगालाल तुलाधर, गण्डकी प्रदेश कमाण्डरमा सचिव श्रीनाथ बराल, लुम्बिनी प्रदेश कमाण्डरमा उपमहासचिव मेटमणि चौधरी, कर्णाली प्रदेश कमाण्डरमा उपाध्यक्ष  प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेश कमाण्डरमा उपाध्यक्ष भानुभक्त जोशीलाई तोकिएको छ ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले भने कीर्तिपुर नगर प्रमुखको उम्मेदवारका लागि ३ जनाको नाम प्रस्ताव गरेको छ । राप्रपा काठमाडौँ जिल्ला कार्यसमितिले मेयरका लागि ३ जना र वडा नम्बर १ र ४ को अध्यक्षका लागि एक–एक जनाको नाम सिफारिस गरेको छ ।

कीर्तिपुर नगरपालिकामा निकट भविष्यमा हुन लागेको उपनिर्वाचनका लागि प्रमुखमा ध्रुव महर्जन, वरिष्ठ अधिवक्तासमेत रहेका राप्रपा केन्द्रीय सदस्य राजु बस्नेत र अर्का केन्द्रीय सदस्य राजकुमार केसीको नाम सिफारिस गरेको छ । यस्तै वडा नं १ मा सुरेन्द्रप्रसाद उप्रेती, वडा नं ४ का लागि बिजेस बस्नेतको नाम सिफारिस गरिएको छ । राप्रपा अन्य रिक्त रहेको स्थानका लागि भने उम्मेदवार सिफारिस गरिसकेको छैन ।

यता ठुला दलहरू नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रले भने उपनिर्वाचनका लागि औपचारिक–अनौपचारिक तयारी थालेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here