अर्धचेत भेटिएकी नाबालिकाको मृत्यु
२८ फागुन, विराटनगर । मोरङको सुन्दर हरैचा – ७ मा अर्धचेत अवस्थामा भेटिएकी नाबालिकाको मृत्यु भएको छ ।
शुक्रबार साझ घरबाट हराएकी २१ महिने बालिका घरनजिकैको घारीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् ।
उपचारको क्रममा आज बिहान नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।
सुन्दरहरैचा ७ का वडा अध्यक्ष चैतन्य सिटौलाका अनुसार बालिकाको बलात्कार भएको आशंका गरिएको छ ।
‘यौनाङ्गमा रक्ताम्य भएकी बालिकालाई भेटेपछि आफन्तले गछिया मेडिकलमा लगेका रहेछन्’उनले भने ‘गछिया पुगेपछि प्रहरीलाई खबर गरेर थप उपचारका लागि नोबेल लगिएको थियो । आज मृत्यु भयो ।’
बेलुका ४ बजेदेखि हराएकी बालिका घर पछाडि रहेको झाडीमा साढे ५ बजेतिर भेटिएपछि अस्पताल लगिएको उनले बताए ।
अस्पताल स्रोतका अनुसार २१ महिने बालिकाको यौनाङ्गमा गम्भीर चोट छ । घटना शंकास्पद भएकाले अनुसन्धान भइरहेको मोरङमा प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए ।
बालिकाको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्