अर्थमन्त्री शर्माको विवादित कदमका विषयमा छानबिन गर्नुपर्ने माग पार्टीमा

२० असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एकपछि अर्को विवादित कदम चालेका विषयमा छानबिन गर्नुपर्ने माग पार्टीमा उठेको छ।

उनी आबद्ध माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार काठमाडौंमा सुरु भएको छ। अर्थमन्त्रीले बजेट बनाउँदा गरेका गल्तीबारे अझै तथ्यसत्य बाहिर नआएकाले पार्टीभित्र छलफलमै रहेको बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले बताए। 

frontline

‘यो छानबिनको विषय बन्न सक्छ। पार्टीभित्र यो छलफलमा उठ्ला’, नेता सहयात्रीले बैठकको सन्दर्भमा भने। पार्टीभित्र व्यक्तिगत प्रवृत्ति हावी भएको सहयात्रीले बताए। ‘हामीले अर्थमन्त्रीको सवाल मात्रै होइन समग्रमा सरकारकै कुरा उठाएका छौं।

नेताहरू सरकारमा गएपछि पार्टीसंग सहकार्य गर्ने, छलफल गर्ने र सामुहिक निर्णयमा विश्वास गर्ने प्रवृत्ति कमजोर हुँदै गएको छ’, उनले भने, ‘त्यसले गर्दा व्यक्तिहरू एकलै हिरो बन्न खोज्ने र फस्ने।

फसेपछि पार्टीले सहयोग गरेन भन्ने स्थिति जे पैदा हुँदै गएको छ। यो पार्टी भित्र एकखाले प्रवृत्ति नै बनेको छ। त्यसमा चेन्ज ल्याउनुपर्छ।’ 

पार्टीले यही बैठकमा अर्थमन्त्रीमाथि लागेको आरोपबारे आन्तरिक रूपमा छलफल गर्ने अर्का नेता रामनारायण बिडारीले बताए।

’छलफलले हामी सन्तुष्ट भएनौ भने छानविन हुन सक्छ’, नेता बिडारीले भने। आइतबार सातै प्रदेश इन्चार्ज र अध्यक्षहरूले रिपोर्टिङ गरेका थिए।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले विभिन्न एजेन्डा र राजनीतिक प्रतिवेदन पेस गरेका छन्।

बैठकमा आइतबार सातै प्रदेशका इन्चार्ज र अध्यक्षहरूले प्रदेश तहमा पार्टीको अवस्थाबारे रिपोर्टिङ गरे। उनीहरूले स्थानीय तहको निर्वाचन, पार्टीको वर्तमान अवस्था र अगामी कार्यदिशाबारे संक्षिप्त प्रतिवेदन पेस गरेका हुन्। आज (सोमबार)बाट त्यसमाथि छलफल हुने कार्यतालिका रहेको छ।

एमसीसी, एसपीपीको प्रभाव, अगामी चुनावी सवाल, संगठन निर्माण, पार्टीको पदाधिकरी, स्थायी कमिटी, पोलिटब्यूरोलाई पूर्णता दिन विषयलाई छलफलको एजेन्डा बनाएको छ।

स्थानीय तहमा पार्टीभित्रै घातअन्तर्घात भएको नेताहरू कुरा उठाएका छन्। मधेसका इन्चार्ज गाणेश साहले पार्टीभित्रै चरम गुटबन्दी भएकोले पहिले जितेका ठाउँहरूमा पनि पार्टी हार व्यहोर्नु परेको बताए।

छानबिन समिति गठन गरेर अन्तर्घात गर्नेहरूलाई कारबाही गर्नुपर्ने माग राखे। कांग्रेससँग गरेको गठबन्धन प्रभावकारी नबनेको विषय बैठकमा प्रवेश पाएको छ।

‘स्थानीय तहको चुनावमा नेपाली कांग्रेससँग गरिएको गठबन्धन गलत होइन। तर,  कांग्रेसबाट माओवादीलाई मत हाल्ने सवालमा धेरै ठाउँमा उदासिनता देखियो।

गम्भीरतापूर्वक समीक्षा गर्न जरुरी छ,’ बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले भने, ‘कांग्रेसले आउँदो चुनावमा यस्तै गर्छ भने गठबन्धन किन बनाउने ? विगतमा भएको गलती नदोहोर्‍याउने  कांग्रेसले हामीलाई कसरी विश्वास दिलाउँछ ?’

माओवादी नेता रामनारायण विडारीका अनुसार गठबन्धनले कयौं ठाउँमा राम्रो काम नगरेको बताए। त्यस्तै, बैठकमा एसपीपी सम्झौता माओवादीका कारण असफल भएको अध्यक्ष प्रचण्डले दाबी गरेका छन्।

उनले पार्टी बैठकमा प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदनमा यस्तो उल्लेख गरेका छन्। ‘एउटा विशिष्ट परिस्थितिमा १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनको बाध्यतापछि एसपीपी सम्झौतामार्फत नेपाललाई आईपीएसको अंग बनाउने प्रयास हाम्रो विशेष पहलसमेतका कारण असफल पारिएको छ,’ प्रतिवेदनमा उल्लेख छ।

स्थानीय निर्वाचनबाट पाठ सिक्दै आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा संयुक्त मोर्चा गठबन्धन र तालमेलको नीतिमा स्पष्टतासहित ठोस कार्ययोजना निर्माण गर्दै अघि बढ्ने प्रतिवदेनमा उल्लेख छ।

प्रतिवदेनमा आर्थिक असमानता, गरिबी र बेरोजगारी बढेर गएको उल्लेख छ। अर्थतन्त्रमा दलाल र नोकरशाही पुँजीवाद हाबी रहेको भनिएको छ।

‘संविधान, लोकतान्त्रिक गणतन्त्र एवं राष्ट्रिय स्वाधीनताको रक्षाका मुद्दामा समान विचार राख्ने वामपन्थी र लोकतान्त्रिक राजनीतिक दलहरूका साथै सम्पूर्ण देशभक्त र जनपक्षीय शक्तिहरूसँग व्यापक संयुक्त मोर्चा कायम गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘प्रतिगामी र प्रतिक्रान्तिकारी शक्तिविरुद्ध संघर्षको तयारीलाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्छ।’  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here