अर्थमन्त्री शर्माको आन्दोलनरत उद्योगीलाई कर संशोधन गर्ने आश्वासन
२७ जेठ, विराटनगर । अर्थमन्त्री जनार्दन शर्माले स्यानिटरी प्याड, वनस्पति तेल र एमएस वायरमा आधरित गरी तीन थरीका उद्योगका समस्याको सम्बोधन गर्न असार १ गतेदेखि नै आफूले काम सुरु गर्ने आश्वासन दिएका छन्।
अर्थ मन्त्रालयको आमन्त्रणमा वार्तामा पुगेका उद्योगीसँग मन्त्री शर्माले जेठ ३० गते बजेट पारित भएपछि तीन उद्योगका समस्या समाधान गर्ने वचनबद्धता प्रकट गरेका हुन्।
वार्तामा सहभागी मोरङ व्यापार संघका पूर्व अध्यक्ष एवं प्रिमियर वायरका सञ्चालक पवनकुमार शारडाले अर्थमन्त्री शर्मालाई उद्धृत गर्दै भने, ‘एक जना अर्थमन्त्री र अर्थसचिवले सबै कुरा बुझेको हुँदैन।
बजेट निर्माण गर्ने क्रममा केही बुझिएन होला। मैले तपाईंहरू तीन थरी उद्योग र उद्योगीकै समस्या राम्ररी बुझिसकेको छु। धेरै तिरबाट मलाई कुरा आइरहेको पनि छ। त्यसैले म सुधार गर्छु।
तर यो बजेट पहिले पास हुनुपर्छ। जेठ ३० गते बजेट पास हुन्छ। त्यसपछि तत्कालै असार १ देखि म तपाईंहरूका समस्याको सम्बोधन गर्नेछु।’
वार्तामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, सिएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरे, शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, हुलास वायरका सञ्चालिका युक्ति गोल्छा, मोरङ व्यापार संघका महासचिव अनिल शारडा लगायतका उद्योगीले स्यानिटरी प्याड, वनस्पति तेल र एमएस वायरमा आधारित तीन थरीका उद्योगलाई बजेटले पुर्यााएको सङ्कटका बारेमा बोलेका थिए।
उद्योग सङ्गठन मोरङका अध्यक्ष प्याकुरेलका अनुसार मन्त्री शर्मा जिआई वायरको निर्यात भएपछि त्यसको कच्चापदार्थ एमएस वायरमा लाग्ने अन्तःशुल्कको रकम पनि फिर्ता गर्न राजी हुनुभएको छ।
मन्त्री शर्माले यो रकम फिर्ता हुनुपर्ने भन्ने कुरामा सहमति जनाएको र निकट भविष्यमै सोहीअनुसारको नीति बनाउने आश्वासन दिएको अध्यक्ष प्याकुरेलले बताए।
हुलास वायरका सञ्चालिका गोल्छाले भनिन्, ‘मन्त्रीज्यूसमक्ष हामीले खुला रूपमा स्पष्ट कुरा राख्यौँ। हाम्रा कुराबाट उहाँ कन्भिन्स हुनुभएको छ। उहाँले सुधार गर्ने वचन पनि दिनुभएको छ। उहाँ वचनको कति पक्का हुनुहुन्छ, हामीपनि हेर्नेछौँ। नभए आन्दोलन जिन्दावाद त छँदैछ।’
व्यापार संघका महासचिव अनिलले अर्थमन्त्रीको बडी ल्याङ्वेज, प्रस्तुति र अभिव्यक्ति सकारात्मक रहेको अनुभव आफूले गरेको उल्लेख गर्दै मर्कामा परेका तीन वटै उद्योगका समस्या समाधान हुने कुरामा आफू विश्वस्त भएको प्रतिक्रिया दिए।
संघका अध्यक्ष नवीन रिजालले विराटनगरका तीन व्यावसायिक सङ्गठनले चलाइरहेको आन्दोलन के गर्ने भन्ने विषयमा शनिबार तीन वटै सङ्गठनको संयुक्त बैठक बसेर निर्णय गरिने जानकारी दिए। रिजालले विराटनगरका तीन वटै व्यावसायिक सङ्गठनले अर्थमन्त्री शर्मालाई लेखेको संयुक्तपत्र हस्तान्तरण गरेका थिए।
प्रतिक्रिया दिनुहोस्