अमेरिकाले युक्रेनसहित आफू निकट मुलुकका लागि दुई अर्ब ७० करोड डलरको सहयोग अनुमोदन
२३ भदौ, वासिङ्टन । अमेरिकाले युक्रेनसहित आफू निकट मुलुकका लागि झण्डै दुई अर्ब ७० करोड डलर बराबरको नयाँ सहयोग अनुमोदन गरेको छ ।
साथै अमेरिकाले रुससँग युद्धरत युक्रेनलाई हातहतियारका लागि ६७ करोड ५० लाख डलर उपलब्ध गराउने भएको छ ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले जर्मनीको र्यामस्टेनस्थित अमेरिकी हवाई अखडामा आफ्ना दर्जनौँ सहकर्मी मन्त्रीहरूसँगको बैठकमा हातहतियार प्याकेज घोषणा गरेका हुन् ।
युक्रेनलाई उपलब्ध गराउन लागिएका हतियारमा होबित्जर्स, बन्दुक, हम्भी सवारी साधन, सशस्त्र एम्बुलेन्स र एन्टी ट्याङ्क सिस्टम रहेका छन् ।
अमेरिकाले यसअघि नै युक्रेनलाई कम्तीमा १३ अर्ब डलर बराबरको सैनिक सहयोग दिने प्रतिबद्धता जनाएको थियो । बाइडेन प्रशासनले बिहीबार युक्रेन र भविष्यमा रुसी आक्रमणका खतरामा रहेका नेटो र गैरनेटो सदस्य गरी यसको अठारवटा छिमेकी राष्ट्रलाई सुरक्षा सुदृढीकरणका लागि लगानीको रूपमा दुई अर्ब डलरको दीर्घकालीन सहयोग छुट्याएको जनाएको छ ।
अमेरिकाले यस सहयोग योजनाबारे कंग्रेसलाई सूचित गरिने बताएको छ । यसैगरी अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिन्केन युक्रेनी राजधानी किभ पुगेका छन् ।
बुधबार युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो फौजले अहिले रुसी फौजमाथिको प्रत्याक्रमणमा सफलता पाइरहेको जानकारी दिका थिए ।
बीबीसीबाट ।
प्रतिक्रिया दिनुहोस्