अमेरिकामा प्रहरीको निर्घात कुटपिटबाट अश्वेत नागरिकको मृत्यु

१४ माघ, काठमाडौं । अमेरिकामा प्रहरीको निर्घात कुटपिटबाट एक अश्वेत नागरिकको मृत्यु भएको खुलेको छ ।

जनवरी ७ मा अमेरिकाको मेम्फिस सहरमा ती अश्वेत युवकलाई प्रहरीले कुटपिट गरेको थियो । अन्तत: प्रहरी उक्त कुटपिटसँग सम्बन्धित चारवटा भिडियो सार्वजनिक गर्न बाध्य भएको छ । भिडियोहरूमा प्रहरीले उनलाई निर्ममतापूर्वक कुटेको देखिन्छ । लात्ताले हान्ने, बन्दुकको कुन्दाले पिट्ने र निर्मतापूर्वक यातना दिएको भिडियो सार्वजनिक भएसँगै प्रहरीविरुद्ध प्रदर्शन भइरहेको छ ।

frontline

जनवरी ७ मा प्रहरीले टायर निकोलस नामका २९ वर्षीय युवकलाई तीव्र गतिमा गाडी चलाएको आरोपमा पक्राउ गरेको थियो । पक्राउको तीन दिनपछि उनको मृत्यु भएको थियो । यस घटनामा पाँच प्रहरीलाई हत्याको आरोप लागेको छ ।

शुक्रबार सार्वजनिक भिडियोमा प्रहरीले निकोलसलाई ट्राफिक स्टपमा रोकेर निर्ममतापूर्वक कुटेको देखिन्छ । प्रहरीबाट भाग्ने प्रयास गरेका उनलाई प्रहरीले पक्राउपछि कुटपिट गरेको देखिन्छ । भिडियोमा उनी धेरै पटक आमा–आमा चिच्याएको सुनिन्छ । ‘म घर जान चाहन्छु’ भन्दै उनले गरेको बिन्तीलाई बेवास्ता गर्दै निर्घात कुटपिट गरेको देखिन्छ ।

प्रहरीले सार्वजनिक गरेको पहिलो भिडियोमा उनलाई प्रहरीले भुइँमा सुत्न भन्छ । जवाफमा निकोलसले ‘मैले केही गरेको छैन’ भन्छन् । अर्को प्रहरीले चुपचाप हात पछाडि गर्न आदेश दिएपछि उनले ‘तपाईंहरू अति गर्दै हुनुहुन्छ, म घर जाँदैछु’ भन्छन् । निकोलसको कुरा नसकिंदै उनीमाथि प्रहरीले बन्दुकको कुन्दाले आक्रमण गर्छन् ।

दोस्रो भिडियोमा उनलाई दुईजना प्रहरीले समातेको र तीन प्रहरीले कुटपिट गरिरहेको देखिन्छ ।  तेस्रो र चौथो भिडियोमा प्रहरीले चरम यातना दिएको र उनी ‘आमा आमा’ भनेर चिच्याइरहेको सुनिन्छ ।

प्रहरीले भने निकोलसले बन्दुक खोस्न लागेपछि कुटपिट गरेको भनेको छ । तर, प्रहरीले नै सार्वजनिक गरेको भिडियोमा यस्तो देखिंदैन ।

निकोलस ४ वर्षीय बच्चाका पिता हुन् । उनी सूर्यास्तको फोटो खिच्न घरबाट निस्किएका थिए । उनको प्रहरीले अश्वेत भएकै कारण अमानवीय हत्या गरिएको आरोप लगाएका छन् । ‘हाम्रो सन्तान कालो नभएको भए प्रहरीले यसरी कुटेर हत्या गर्ने थिएन,’ उनको परिवारको तर्क छ । यद्यपि, निकोलसको हत्या आरोप लागेका पाँचै प्रहरी अश्वेत हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले टायर निकोलसको घटनाबाट आफू निकै दुखी भएको बताएका छन्। उनले यस विषयमा गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन पनि दिएका छन् ।

निकोल्सको मृत्युलाई लिएर अमेरिकाभर प्रदर्शन भइरहेको छ । कतिपय प्रदर्शनकारीले मेम्फिसमा सडक अवरुद्ध गरेका छन्  । कतिपय प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।  परिवारका सदस्यहरूका अनुसार टायर निकलस आफ्नो घरबाट स्थानीय पार्कमा सूर्यास्तको फोटो खिच्न गएका थिए।

उक्त घटनाको छानबिन गर्न बनेको समितिले नागरिकलाई यसरी कुटपिट गर्नु जायज नभएको बताएको छ ।

प्रहरी प्रशिक्षण विशेषज्ञ एड ओबायाशीले न्यूयोर्क टाइम्ससँग कुरा गर्दै भनेका छन्, ‘मैले चलचित्रमा बाहेक आफ्नो सम्पूर्ण करियरमा यो कहिल्यै देखेको थिइनँ ।’

घटनामा संलग्न प्रहरीहरू सन् २०१७ मा मेम्फिस प्रहरी विभागको सडक अपराध न्यूनीकरण गर्ने युनिटमा भर्ती भएका थिए । अहिले पाँचै प्रहरीलाई बर्खास्त गरिएको छ । उनीहरुविरुद्ध ज्यान मार्ने मुद्दा पनि दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here