अमेरिकापछि बेलायत पुगे जेलेन्स्की, २.२६ अर्ब पाउण्डको सैन्य सहायतामा हस्ताक्षर

१८ फागुन, काठमाडौं । अमेरिकाका राष्ट्रपति ट्रम्पसँग बाझाबाझ भएपछि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की बेलायत गएका छन् । बेलायतका प्रधानमन्त्री कियर स्टार्मर र जेलेन्स्कीबीच भएको भेटवार्तापछि युक्रेनलाई २.२६ अर्ब पाउण्डको सैन्य सहायता गराउने सम्झौता समेत भएको छ ।
ह्वाइटहाउसबाट अपमानित महसुस गरी बाहिरिएका जेलेन्स्कीलाई बेलायतका बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले न्यानो स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।




डाउनिङ स्ट्रिटमा भएको भेटवार्ताका क्रममा स्टार्मरले युक्रेनलाई युनाइटेड किङ्गडमभरिबाट पूर्ण समर्थन रहेको बताएका थिए । अनि जेलेन्स्कीले युक्रेनका यस्ता असल साथीहरु पनि रहेको भन्दै आफूहरु निकै खुसी भएको बताएका थिए ।
बीबीसीका अनुसार भेटवार्तापछि सैन्य सहायता सम्बन्धी सम्झौता भएको थियो । बेलायतले युक्रेनलाई २.२६ अर्ब पाउण्ड बराबरको सैन्य सहायता उपलब्ध गराउने र यो रकम बेलायतले रोक्का गरेको रुसी सम्पत्तिबाट भुक्तानी हुने बीबीसीले जनाएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि बेलायतले रुसी सम्पत्तिमा रोक्का गरेको थियो ।
जेलेन्स्की शनिबार अमेरिका गएका थिए । ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँगको छलफल तनावपूर्ण बनेको थियो । उनीहरुबीच बाझाबाझ भएपछि अमेरिका र युक्रेनबीच हुने भनिएको खनिज सम्झौता रद्द भयो । यो घटनाले युक्रेन-अमेरिका सम्बन्धलाई संकटमा पुर्याएको विश्लेषकहरुले बताएका छन् ।
यसबीचमा बेलायतका प्रधानमन्त्री स्टार्मर भने अमेरिका र युरोपबीच सेतु बन्ने प्रयासमा छन् । आइतबार स्टार्मरले लण्डनमा युरोपेली नेताहरुको बैठक आह्वान गरेका छन् ।
यो बैठकमा रुस-युक्रेन युद्ध अन्त्यको प्रयास र युरोपेली देशको रक्षा सुदृढीकरणबारे छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्