अमेरिकाको पहलमा युक्रेन युद्धको बारे छलफल
समाचार सारांश
- अमेरिकी उपराष्ट्रपति र बेलायती विदेशमन्त्रीले युक्रेन युद्धबारे छलफल गर्न सुरक्षा अधिकारीहरूसँग बैठक गरे।
- बैठकमा युक्रेनका अधिकारीहरू र नेटोका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो, जसमा बेलायतको पूर्ण समर्थन रहेको जनाइयो।
- युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसलाई कुनै पनि क्षेत्रीय रियायत नदिने स्पष्ट पारेका छन्, र ट्रम्पले भने केही भूभाग छोड्नुपर्ने संकेत गरेका छन्।
लण्डन । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र बेलायती विदेशमन्त्री डेभिड ल्यामीले युक्रेन युद्धको बारेमा छलफल गर्न सुरक्षा अधिकारीहरूसँग बैठक गरेका छन्। लन्डन नजिकैको केन्टमा रहेको ल्यामीको सरकारकी निवासमा दुई नेताबिच शनिबार भेटघाट भएको थियो।
यसमा युक्रेनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव रुस्तम उमरोभ, जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्री येर्माक र बेलायत, संयुक्त राज्य अमेरिका, युरोपेली संघ, फ्रान्स, जर्मनी, इटाली, फिनल्याण्ड र नेटोका अधिकारीहरू उपस्थित थिए। यो बैठक अमेरिकाको पहलमा बोलाइएको बताइएको छ।
यस अवसरमा युरोपका युक्रेनी अधिकारीहरू र राष्ट्रिय सुरक्षा सल्लाहकारहरू पनि उपस्थित थिए। ल्यामीले भने, ‘युक्रेनलाई बेलायतको पूर्ण समर्थन छ र हामी न्यायपूर्ण र दिगो शान्तिको लागि काम गरिरहनेछौँ।’
युक्रेनी राष्ट्रपति भ्लाोदिमिर जेलेन्स्कीले रुसलाई कुनै पनि क्षेत्रीय रियायत नदिने स्पष्ट पारेका बेला यो बयान आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच अर्को हप्ता अलास्कामा हुने शिखर सम्मेलनअघि जेलेन्स्कीले यो कुरा बताएका हुन्।
ट्रम्पले युक्रेनले युद्ध अन्त्य गर्नका लागि केही भूभाग छोड्नु पर्ने सङ्केत दिएका छन्। रुसले सन् २०२२ फेब्रुअरीमा पूर्णस्तरीय आक्रमण गरेसँगै सुरु भएको युद्धबारे सम्भावित शान्ति सम्झौतामा टिप्पणी गर्दै उनले शुक्रबार भने, “दुवैका हितमा केही भूभागको आदान–प्रदान हुनेछ।”
उनले थपे, “तपाईँ त्यस्तो भूभागबारे कुरा गर्दै हुनुहुन्छ जहाँ साढे तीन वर्षदेखि लडाइँ भइरहेको छ, धेरै रुसी मारिएका छन्। धेरै युक्रेनी पनि मारिएका छन्।”
शनिबार राति बेलायत, फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, फिनल्यान्डका नेताहरू र युरोपियन आयोगकी अध्यक्ष उर्सुला भन डेर लेयेनले संयुक्त वक्तव्य जारी गर्दै युक्रेनप्रति आफ्नो समर्थन पुनः पुष्टि गरेका छन् र कुनै पनि शान्ति वार्तामा युक्रेनको सहभागिता अनिवार्य भएको बताएका छन्।
“युक्रेनमा शान्तिको बाटो युक्रेनबिना तय गर्न सकिँदैन,” वक्तव्यमा भनिएको छ, “युक्रेनलाई आफ्नो भविष्यको निर्णय गर्ने स्वतन्त्रता छ।”
नेताहरूले थपे, “अन्तर्राष्ट्रिय सिमाना बलपूर्वक परिवर्तन गर्न पाइँदैन र उनीहरूको राष्ट्रहरूले युक्रेनलाई कूटनीतिक, सैन्य र वित्तीय सहयोग जारी राख्नेछन्।’
रुसले लगातार युक्रेनले आफ्ना कब्जामा रहेका केही क्षेत्रहरूमा रुसी सार्वभौमसत्ता स्वीकार गर्नुपर्ने, असैन्यकरण गर्नुपर्ने र नेटो सदस्यता आकाङ्क्षा त्याग्नुपर्ने अडान लिँदै आएको छ।
ट्रम्पको अडान पनि लामो समयदेखि शान्तिका लागि युक्रेनले भूमि त्याग्नुपर्ने पक्षमा रहेको छ। यद्यपि जेलिन्स्कीले प्रत्यक्ष रूपमा ट्रम्पको आलोचना नगरे पनि, उनको सामाजिक सञ्जालमा गरिएको पोस्टले यो प्रस्ताव अस्वीकार्य भएको स्पष्ट पारेका छन्।






प्रतिक्रिया दिनुहोस्