अमेरिकाका सहायक मन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आउने

२८ कार्तिक, काठमाडौँ । अमेरिकाका दक्षिण र मध्य एसिया मामिला हेर्ने सहायक मन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आउने भएका छन् ।

उनी १७ नोभेम्बर नेपाल आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

frontline

दुई दिनको नेपाल भ्रमणमा आउने उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, अन्य मन्त्री तथा विभिन्न दलका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

नेपाल र अमेरिकाबीच सन् २०१७ मा हस्ताक्षर भएको अमेरिकी अनुदान सम्झौता (एमसीसी) कम्प्याक्ट सम्झौताको संसदीय अनुमोदनका लागि समय घर्किरहेको बेलामा अमेरिकाका दक्षिण र मध्य एसिया मामिला हेर्ने सहायक मन्त्री लूको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

यसअघि नेपाल भ्रमणमा आएकी अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फतिमा जी सुमरले आर्थिक अनुदानलाई राजनीतिक मुद्दा बनाउन नहुनेमा जोड दिएकी थिइन । उनले नेपालले यसबारे चाँडै निर्णय लिनेमा आफू आशावादी रहेको बताएकी थिइन ।

तर, सरकारले एमसीसी सम्झौताको संसदीय अनुमोदनको कुनै कदम नचालेकाले मन्त्री लूले पनि शीर्ष भेटमा नेपालको धारणा लिनेछन् ।

विद्युत् प्रसारण लाइन र सडक निर्माणमा खर्च गरिने करिब ६० अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौतालाई लिएर नेपालभित्र गहिरो मतभेद छ।

एमसीसी अनुदानसम्बन्धी कम्प्याक्ट सम्झौतालाई अहिलेकै अवस्थामा कार्यान्वयन गर्ने विषयलाई लिएर सत्ता गठबन्धनभित्रै मतभेद छ।

उक्त सम्झौतालाई संसद्‌बाट  अनुमोदन गराउन प्रधानमन्त्री देउवालाई सत्तारूढ गठबन्धनका दलहरू वा प्रमुख विपक्षी नेकपा एमालेको सहयोगको आवश्यकता पर्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here