अमेरिकाका एक संक्रमित व्यक्ति २०३ दिनपछि अस्पतालबाट डिस्चार्ज
बुधबार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएपछि अस्पताल भर्ना भएका अमेरिकाका एक व्यक्ति २०३ दिनपछि डिस्चार्ज भएका छन् ।
सिन हन्ट नाम गरेका ती व्यक्तिको नोर्फोल्क र नोर्विच अस्पतालमा उपचार गरिएको थियो । ५८ वर्षीय हन्टले अस्पतालमा उपचारको क्रममा आधाभन्दा धेरै समय आईसीयूमा बिताएका थिए ।
गत जनवरीमा बिरामी परेपछि उनलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कोरोना संक्रमण देखिनुभन्दा पहिला मधुमेह र प्यांक्रियाटिटिजको समस्या देखिएको थियो ।
अस्पतालमा सबैभन्दा लामो समय बस्ने बिरामी रहेका हन्टलाई परिवारले आशा मारिसकेका थिए । तीनपटक उनीहरु अन्तिम बिदाइको लागि अस्पताल आएका थिए ।
पेशाले शिक्षक हन्टलाई भेन्टिलेटरमा राखिएको थियो र डाक्टरहरुलाई पनि अब उनी बाँच्छन् भन्ने लागेको थिएन ।
हन्टले पनि आफूलाई अब धेरै सय समय बाँचिदैन भन्ने लागेको बताएका थिए । उनलाई डाक्टरहरुले पनि अब लामो समय बाँच्न नसक्ने बताइसकेका थिए ।
प्यांक्रियाटिजको उपचारको क्रममा सातपटक उनको अपरेसन गरिएको थियो । शरीरका धेरै अंगहरुले काम गर्न छाडिसकेको र दुईवटा रोग एकै समय लागेकाले उनको बाँच्ने सम्भावना निकै कम देखिएको उपचारमा संलग्न डाक्टर भास्कर कुमार बताउँछन् । तर, डाक्टरहरुले आफ्नो तर्फबाट प्रयास भने जारी राखे ।
शुक्रबार अस्पतालबाट डिस्चार्ज भएपछि हन्टले मानिसहरुलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरे ।
‘यो रोग लाग्ने जोखिम निकै कम हुनु निकै ठूलो कुरा हो,’ उनले भने, ‘तपाईंले आफ्नो र आफ्ना प्रिय मान्छेहरुलाई सुरक्षित गर्न खोप लगाउनुपर्छ । यो धेरै ठूलो कुरा हो ।’
अहिले हन्टलाई हिँड्नको लागि कसैको सहारा चाहिन्छ । छिट्टै नै पहिले जसरी नै हिँड्न सक्ने उनले विश्वास लिएका छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया दिनुहोस्