अफगान नागरिकले १३ वर्षअघि भएको घटनाबारे याद दिलाएर राष्ट्रपति बाइडेनसँग मागे मद्दत

अमेरिका । आज अमेरिकाका राष्ट्रपतिको पदमा आसिन जो बाइडेनले सायद १३ वर्ष पुरानो कुरा बिर्सिएका थिए । तर एक अफगान नागरिकले उनलाई सन् २००८ मा भएको त्यो घटनाबारे याद दिलाएर उनीसँग मद्दत मागिरहेका छन् । त्यतिबेला जो बाइडेन सांसद थिए र अफगानिस्तानको भ्रमणमा गएका थिए ।

उनीसँग दुई अन्य सांसद पनि थिए । हेलिकोप्टर एक दुर्गम स्थानमा आएको हिम आँधीमा फसेको थियो । सबैको ज्यान जोखिममा थियो । त्यतिबेला उनीहरुको उद्धार गर्न गएको समूहमा मोहम्मद नामका एक दोभाषे पनि थिए । उनी सन् २००८ मा अमेरिकी सैनिकका दोभाषे थिए ।

frontline

आज मोहम्मद काबुलमा परिवारसमेत फसेका छन् । बाइडेन आज राष्ट्रपति हुन् । ‘द वाल स्ट्रीट जर्नल’ लाई दिएको अन्तरवार्तामा मोहम्मद बारम्बार भनिरहेका छन्, ‘हेलो मिस्टर प्रेसिडेन्ट, मलाई र मेरो परिवारलाई बचाउनुहोस् । मलाई यहाँ छोडेर नजानुहोस् ।’

बाइडेन त्यतिबेला डेलावेयरका सांसद थिए । उनीसँग तत्कालीन सिनेटर जोन केरी र चक हेगल पनि अफगानिस्तान गएका थिए । बगराम एयरबेसभन्दा करिब ३० माइल टाढा भयंकर हिम आँधी आयो जसमा ब्ल्याक हक हेलिकोप्टर फस्यो ।

यसकारण हेलिकोप्टर आपतकालीन अवतरण गर्नुपरेको थियो । मोहम्मद त्यो समूहको हिस्सा थियो जसलाई बगरामबाट मद्दतका लागि पठाइएको थियो ।

उक्त समूह जो बाइडेन भएको स्थानसम्म पुग्नका लागि भयंकर बर्फबारीबीच पहाडी बाटो हुँदै घण्टौं ड्राइभ गर्नुपरेको थियो । मोहम्मद त्यतिबेला अमेरिकी सेनाका लागि काम गर्दथे ।

अमेरिकी सेनाका अधिकारीले दिए मोहम्मदलाई साथः

रिपोर्टका अनुसार मोहम्मद र उनका चार सन्तान यतिबेला तालिबानसँग लुकेर बस्छन् । उनी थुप्रै वर्षदेखि अफगानिस्तान छोड्ने कोसिसमा थिए तर विभिन्न परिबन्धमा उल्झिए । मोहम्मदले वाल स्ट्रिट जर्नलसँग भने, ‘म आफ्नो घरबाट निस्कन सक्दिनँ । म असाध्यै डराएको छु ।’

रिपोर्टका अनुसार अमेरिकी सेनाका थुप्रै अधिकारीले मोहम्मदको समर्थनमा आवाज उठाए । मोहम्मद भिसा निवेदनमाथि ले. कर्नल एन्ड्रयू र टिल्लको टिप्पणी छ । यसका साथै दिग्गज अधिकारी शन ओ’ब्रायनले लेखेका छन्, ‘यदि तपाईंले एकजना मात्रै अफगानी नागरिकको मद्दत गर्न सक्नुहुन्छ भने मोहम्मद रोज्नुहोस् ।’

ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले मंगलबार ती दोभाषेलाई सेवाका लागि धन्यवाद दिएकी छिन् । अमेरिका अफगानबाट निस्कन चाहने नागरिकलाई उद्धार गर्न प्रतिबद्ध रहेको कुरा उनले दोहोराइन् । ‘हामी तपाईंलाई निकाल्छौं । हामी तपाईंको सेवालाई सम्मान गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here