अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले म्यानमारसँग खेल्दै

११ फागुन, काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो तेस्रो खेलमा म्यानमारसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।
हालसम्म नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा पनि स्थान बनाइसकेका छन् । त्यसकारण यस खेल फाइनलअघिको वार्म-अप सरह हुनेछ ।




म्यानमारले लेबनानलाई ३-१ तथा कीर्गिस्तानलाई ५-० गोलअन्तरले हराएको थियो भने नेपालले लेबनान र कीर्गिस्तान दुवैलाई समान १-० गोलअन्तरले हराएको थियो ।
नेपालका प्रशिक्षक राजेन्द्र तामाङले यस खेलका लागि म्यानमारको टोलीको रणनीति बुझेर त्यसैअनुसार फाइनलको योजना बनाउन सहज हुने बताएका छन् ।
नेपाल र म्यानमारबिच हालसम्म ३ खेल भएको छ जसमा एक बराबरी खेल्दा दुई खेलमा नेपाल पराजित भएको थियो । म्यानमारले ७ गोल गर्दा नेपालले जम्मा २ गोल मात्र गरेको छ ।
सन् २०१९ मा भारतमा भएको हिरो कपको लिग चरणमा नेपाल म्यानमारसँग ३-० ले पराजित भएको थियो भने फाइनलमा ३-१ ले पराजित भएको थियो । त्यसअघि सन् २०१८ मा भएको ओलम्पिक एएफसी क्वालिफाइङ राउण्ड वानमा नेपालले म्यानमारसँग १-१ को बराबरी खेलेको थियो ।
आजै दिउँसो २ बजे हुने खेलमा लेबनान र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीका लागि सान्त्वना जितको पनि अवसर हुनेछ ।
प्रतिक्रिया दिनुहोस्