३६ करोडको भवनदेखि १६ किमि क्षेत्रमा स्मार्ट लाइटसम्म : मध्यपुरथिमिको चार वर्ष
मध्यपुरथिमि नगरपालिकाले पछिल्लो चार वर्षमा आन्तरिक राजस्व संकलनमा उल्लेख्य वृद्धि गरेको छ । नगरपालिकाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १८ करोड ४५ लाख ९४ हजार ६६७ रुपैयाँ रहेको आन्तरिक राजस्व आर्थिक वर्ष २०८२/८३ मा ५२ करोड ५६ लाख १ हजार ४२७ रुपैयाँ पुगेको छ ।
क्रियाशील पत्रकार मञ्च भक्तपुरले शुक्रबार आयोजना गरेको मध्यपुरथिमि नगरपालिकाको चारवर्षे विकास तथा उपलब्धिबारे सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले करका दरमा वृद्धि नगरी राजस्व संकलन बढाउन सफल भएको दाबी गरे ।
उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा २४ करोड १३ लाख ३८ हजार ७४८ रुपैयाँ, २०८०/८१ मा ३० करोड ४ लाख ४४ हजार ५६५ रुपैयाँ र २०८१/८२ मा २७ करोड १७ लाख ५८ हजार ५८५ रुपैयाँ आन्तरिक राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षमा भने राजस्व संकलन ५२ करोड ५६ लाख रुपैयाँभन्दा बढी पुगेको उनले बताए ।
नगर प्रमुख श्रेष्ठले आवासीय घरबहाल कर १० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गर्नुका साथै लामो समयदेखि कर नतिरेका ठूला व्यवसायीलाई करको दायरामा ल्याइएको बताए । करको दायरा विस्तार, कर नीति सुधार तथा कर प्रशासनलाई प्रभावकारी बनाउँदा राजस्व संकलनमा वृद्धि भएको उनको भनाइ छ ।
उनले संघीय सरकारले चालु आर्थिक वर्षमा पूर्वाधार विकासका लागि ५५ लाख रुपैयाँ मात्रै बजेट उपलब्ध गराएको बताउँदै नगरपालिकासँग ६२ करोड रुपैयाँ मौज्दात रहेको जानकारी दिए । नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट करिब ३६ करोड रुपैयाँको लागतमा सुविधासम्पन्न प्रशासनिक भवन निर्माणसमेत सुरु गरेको उनले बताए ।
नगर प्रमुख श्रेष्ठका अनुसार चार वर्षको अवधिमा सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र राजस्व व्यवस्थापनलगायत क्षेत्रमा काम गरिएको छ । नगरपालिकाले ७९ वटा ऐन, नियम, कार्यविधि तथा निर्देशिका निर्माण गरी कार्यान्वयनमा ल्याएको पनि उनले जानकारी दिए ।

शिक्षामा छात्रवृत्तिदेखि दिवा खाजासम्म
नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, स्थानीय पाठ्यक्रम कार्यान्वयन र शिक्षक व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ । कक्षा १ देखि १० सम्मका ४ हजार ८१४ विद्यार्थी तथा कक्षा ११ र १२ का २०४ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको नगर प्रमुख श्रेष्ठले बताए ।
केन्द्रीकृत भान्छाघरमार्फत कक्षा ५ सम्मका करिब २ हजार ७०० विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराइएको छ । आगामी वर्षदेखि कक्षा ८ सम्मका विद्यार्थीलाई समेत दिवा खाजाको व्यवस्था गरिने उनले बताए ।
स्वास्थ्य सेवामा विशेषज्ञ सेवा विस्तार
नगरपालिकाले ज्येष्ठ नागरिक, दलित, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य बीमा, रेबिज तथा निमोनियाविरुद्धको खोप, क्यान्सर परीक्षण, होमियोप्याथिक सेवा र ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा डायलासिस, सिटी स्क्यान, ब्लड बैंक, आमा सुरक्षा कार्यक्रम, शल्यक्रियासहित विभिन्न विशेषज्ञ सेवा विस्तार गरिएको छ । अस्पतालले दैनिक करिब १ हजार २०० बिरामीलाई सेवा दिइरहेको नगर प्रमुख श्रेष्ठले बताए ।
उपप्रमुख विजयकृष्ण श्रेष्ठले निर्माण सम्पन्न हुने चरणमा रहेको अस्पतालको नयाँ सुविधासम्पन्न भवनबाट थप विशिष्टीकृत स्वास्थ्य सेवा सञ्चालन गरिने बताए । स्वास्थ्य बीमाबापतको रकम प्राप्त नभए पनि देशका ७७ वटै जिल्लाबाट उपचारका लागि आएका बिरामीलाई सेवा दिइरहेको उनको भनाइ छ ।
सडकदेखि स्मार्ट लाइटसम्म पूर्वाधार विस्तार
नगरपालिकाले सडक कालोपत्रे तथा स्तरोन्नति, घरघरमा खानेपानीको पहुँच विस्तार, विद्यालय तथा स्वास्थ्य संस्था निर्माण, पार्क निर्माण, मठमन्दिर पुनर्निर्माण र सम्पदा संरक्षणका काम अघि बढाएको जनाएको छ ।
‘मध्यपुर उज्यालो अभियान’अन्तर्गत नगर क्षेत्रका विभिन्न सडकमा करिब १६ किलोमिटर क्षेत्रमा स्मार्ट लाइट जडान गरी सञ्चालनमा ल्याइएको नगर प्रमुख श्रेष्ठले बताए । नीलबाराही क्षेत्रको संरक्षणको कामसमेत भइरहेको उनले जानकारी दिए ।
नगरपालिकाले समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि समिति गठन गरी कृषि बचत तथा ऋण सहकारी संस्थाका ५१२ जना बचतकर्तालाई ५२ लाख ४० हजार रुपैयाँ फिर्ता गराएको जनाएको छ ।
२ अर्ब ७१ करोडको बजेट कार्यान्वयनमा
उपप्रमुख विजयकृष्ण श्रेष्ठका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षका लागि २ अर्ब ७१ करोड रुपैयाँको बजेट कार्यान्वयनमा ल्याएको छ । शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट खर्च गरिने उनले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले पछिल्ला चार वर्षमा बजेट कार्यान्वयनमा उल्लेख्य उपलब्धि हासिल भएको बताए । जनप्रतिनिधिको वर्तमान कार्यकालको अन्तिम वर्षमा समेत जनताको आवश्यकता र चाहनाअनुसार थप महत्वपूर्ण काम गर्ने उनले बताए ।
कार्यक्रमका सभापति एवं क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले स्थानीय तहको विकासलाई जनतासँग जोडेर अघि बढाउनुपर्ने बताए । स्थानीय तह र सञ्चारमाध्यमबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रमका संयोजक पुष्करराज बुढाथोकीले स्थानीय तह जनताका लागि ‘नजिकको सिंहदरबार’ भएकाले जनप्रतिनिधिले स्थानीयवासीको सहज पहुँच र आवश्यकतालाई प्राथमिकता दिनुपर्ने बताए ।






प्रतिक्रिया दिनुहोस्