सर्वोच्चको पुनरवलोकन आदेशपछि शर्मा : ‘विचलित नहोऔँ, १५औँ महाधिवेशनको तयारीमा जुटौँ’
सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा विगतको फैसला पुनरवलोकन गर्ने आदेश दिएपछि पार्टीका उपसभापति विश्वप्रकाश शर्माले नेता तथा कार्यकर्तालाई संयमित हुन आग्रह गरेका छन्।
गत पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा चयन भएका थिए। सोही कार्यसमितिको वैधतामाथि सर्वोच्च अदालतले पुनः परीक्षण गर्ने निर्णय गरेपछि उपसभापति शर्माले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै पार्टीको धारणा सार्वजनिक गरेका हुन्। अदालतको पछिल्लो कदमले पार्टीका लाखौँ सदस्य र शुभचिन्तकमा केही हलचल र चिन्ता उब्जाएको भए पनि नआत्तिन उनले सबैलाई अनुरोध गरेका छन्।
शर्माले सर्वोच्च अदालतको साउन २१ गतेको आदेशले यसअघि वैशाख ४ गते गरेको फैसला नउल्टाएको र निर्वाचन आयोगले गरेको दलको अद्यावधिकलाई पनि बदर नगरेको स्पष्ट पारेका छन्।
अदालतले कुनै पनि मुद्दाको फैसला गरिसकेपछि नयाँ तथ्य वा प्रमाण भेटिएमा वा पुरानो नजिरसँग बाझिएमा पुनरवलोकन गर्न सक्ने कानुनी व्यवस्था रहेको उनले स्मरण गराए। तर, यस मुद्दामा रातारात कुनै नयाँ तथ्य फेला नपरेको र कुनै नजिर पनि उल्लङ्घन नभएको उनको दाबी छ।
यस विषयमा अदालतप्रति कुनै नकारात्मक टिप्पणी गर्न जरुरी नरहेको बताउँदै उनले यसलाई एक अवसरका रूपमा लिनुपर्ने सुझाव दिएका छन्। शर्माले सन्देशमा भनेका छन्, ‘संयम र परिपक्वताका साथ विशेष महाधिवेशनको वैधानिक तथ्य र राजनीतिक सत्यलाई सम्मानित अदालत र न्यायमूर्तिहरूसमक्ष राख्नुपर्छ।’
यो विषय दल विभाजनसम्बन्धी कानुनसँग आकर्षित नहुने र दलको विवरण अद्यावधिक गर्नेसँग मात्र सम्बन्धित रहेको शर्माले प्रस्ट्याएका छन्। २०७८ मंसिरमा १४औँ महाधिवेशन सम्पन्न भएपछि नियमित रूपमा १५औँ महाधिवेशन हुन नसकेपछि विधानबमोजिम विशेष महाधिवेशन बोलाइएको उनले बताए।
केन्द्रीय समितिले महाधिवेशन नबोलाएपछि विधानको व्यवस्था अनुसार नै अर्को प्रक्रियाबाट विशेष महाधिवेशन भएको र त्यसलाई निर्वाचन आयोगले अद्यावधिक गरेको उनको भनाइ छ।
विशेष महाधिवेशनपछि असन्तुष्ट पक्षलाई स्पष्टीकरण सोधेर कारबाही गरिएको र सोही विषयलाई लिएर उनीहरू अदालत जाँदा अदालतले फैसला सुनाएको शर्माले बताएका छन्।
यसबिचमा विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका कसैलाई पनि भेदभाव नगरिएको उनले स्पष्ट पारेका छन्। पार्टीभित्रका सानातिना मतभिन्नतालाई पन्छाएर अब १५औँ महाधिवेशनतर्फ अघि बढ्नुपर्नेमा शर्माले जोड दिएका छन्।
आजको दिनमा कांग्रेसलाई सबल बनाउनु पार्टीका लागि मात्र नभई देशका लागि बढी आवश्यक रहेको उनले औँल्याएका छन्। बीपी कोइरालाले आफू सक्रिय छँदै अरूलाई नेतृत्व सुम्पेर गरेको त्यागको स्मरण गर्दै शर्माले पार्टीभित्र त्यागको संस्कृति कमजोर बन्दै गएकोमा चिन्तासमेत व्यक्त गरेका छन्।
उनले सम्पूर्ण नेता तथा कार्यकर्तालाई गाउँगाउँमा वडा अधिवेशनको तयारीमा जुट्न र सबैलाई एकताबद्ध बनाएर अघि बढ्न अपिल गरेका छन्।






प्रतिक्रिया दिनुहोस्