विभिन्न सात राजनीतिक दलहरूबिच आज अग्रगामी मोर्चा घोषणा हुँदै
विभिन्न सात राजनीतिक दलहरूबिच आज ‘अग्रगामी मोर्चा’ घोषणा हुने भएको छ । मधेस, थरूहट, दलित तथा उत्पीडित वर्ग र सीमान्तकृत समुदायका अधिकारका लागि क्रियाशील दलहरू एकीकृत भई ‘अग्रगामी मोर्चा’ घोषणा गर्न लागिएको हो । थापागाउँ स्थित काठमाडौँ बैंक्वेटमा दिउँसो १ बजे मोर्चाको आधिकारिक घोषणा हुनेछ ।
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, डा सिके राउत नेतृत्वको जनमत पार्टी, र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीजस्ता मुख्य क्षेत्रीय तथा जातीय आधार भएका दलहरू सामेल छन्।
त्यसैगरी जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी, रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी र बहुजन एकता पार्टीसमेत यस सहकार्यमा जोडिएका छन्। राजनीतिक रूपमा फरक–फरक पृष्ठभूमि र भूगोलमा प्रभाव जमाएका यी दलहरूको एकीकृत मोर्चाले देशको राजनीतिमा नयाँ शक्ति सन्तुलन पैदा गर्ने अपेक्षा गरिएको छ।
सहभागी दलहरूले मोर्चालाई रणनीतिक रूपमा बलियो र दीर्घकालीन बनाउन दक्षिण अफ्रिकाको ऐतिहासिक राजनीतिक सङ्गठन अफ्रिकन नेशनल कंग्रेस (एएनसी)को मोडल अपनाउने सहमति गरेका छन् ।
आउँदो निर्वाचनमा छरिएर होइन, एउटै साझा चुनाव चिह्न लिएर जनतामाझ जाने गृहकार्य समेत मोर्चाले गरेको छ। नेताहरूका अनुसार मोर्चाभित्र विचार, कार्यदिशा र कार्यशैलीका हिसाबले कुरा मिल्दै गएमा भविष्यमा पूर्ण पार्टी एकताकै तहसम्म पुग्ने मार्गचित्र तय गरिएको छ।
अहिलेसम्मका राजनीतिक आन्दोलनहरूबाट प्राप्त भएका सङ्घीयता, समावेशिता जस्ता महत्त्वपूर्ण उपलब्धिलाई जोगाउनु यस मोर्चाको मुख्य प्राथमिकता रहनेछ।
त्यसका साथै सामाजिक तथा आर्थिक रूपमा पछाडि पारिएका वर्गको अधिकार सुनिश्चित गर्दै परम्परागत शक्तिहरूको सशक्त विकल्पका रूपमा काम गर्ने दाबी मोर्चाका नेताहरूले गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्