एमबीएसको प्रश्नपत्र दुईवटा कलेजमा पढाउने शिक्षकले नै सार्वजनिक गरेको खुलासा

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र शिक्षकलेनै सार्वजनिक गरेको खुलासा भएको छ।

कोटेश्वरको हिमालयन कलेज र काठमाडौँ मोडेल कलेज (केएमसी) बागबजारमा फाइनान्स पढाउने शिक्षक सन्दीप सिंहले सार्वजनिक गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पत्ता लगाएको हो। 

frontline

३३ वर्षीय शिक्षक सिंहलाई आइतबार दिउँसो पक्राउ गरेर थप अनुसन्धान गरिरहेको सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले जानकारी दिए। 

भक्तपुरको मध्यपुर थिमी नगरपालिका-१ बाट पक्राउ परेका सिंहको स्थायी ठेगाना कैलालीको घोडाघोडी नगरपालिका-११ हो। उनीमाथि सीआईबीले शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा अनुसन्धान अगाडि बढाएको छ।

२०८३ साउन ८ गते त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फको एमबीएस प्रथम सेमेस्टरको एमजीटी ५१५ ‘अर्गनाइजेसनल बिहेभियर’ विषयको प्रश्नपत्र परीक्षा सञ्चालन भएको केही मिनेटमै ह्वाट्सएप ग्रुपमा सार्वजनिक भएको थियो। 

साथै सोही दिननै प्रश्नपत्र बाहिरिएको ह्वाट्सएप ग्रुपका स्क्रिनसटहरू ‘टीयू स्टुटेन्ट्स’ नामक फेसबुक पेजमा सार्वजनिक भएका थिए।

‘ह्वाट्सएप ग्रुपमा उहाँले पठाएको देखिएको छ। तर उहाँले चाहिँ कसरी पाउनु भयो भन्ने अनुसन्धान गरिरहेका छौँ,’ एसएसपी जबराले नेपालखबरसँग भने। 

एमबीएस प्रथम सेमेस्टरको अन्य विषयका परीक्षा बाँकीनै रहेकाले उक्त परीक्षामा समेत गैरकानुनी क्रियाकलापहरू हुन सक्ने भन्दै प्रहरीले सचेत गराएको छ। त्यस्ता कसुर गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत सीआईबीले दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here