तारकेश्वर नगरपालिका-नगरस्तरीय बाल भेला, नगर बाल सञ्जाल गठन तथा क्षमता विकास कार्यक्रम सम्पन्न

तारकेश्वर नगरपालिकाको आयोजनामा नगरस्तरीय बाल भेला, नगर बाल सञ्जाल गठन तथा क्षमता विकास कार्यक्रम आज मिति २०८३ असार १९ गते बालमैत्री स्थानीय शासन नगर समन्वय समितिका अध्यक्ष एवं नगर प्रमुख श्री कृष्ण हरि महर्जनज्यूको अध्यक्षतामा सम्पन्न भएको छ।

कार्यक्रममा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा नं. २ का वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा अन्य जनप्रतिनिधिहरू, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, योजना शाखा प्रमुख, विभिन्न शाखाका कर्मचारीहरू, फोकल विद्यालयका प्रधानाध्यापकहरू, विद्यालयका बालमैत्री सम्पर्क शिक्षकहरू, वडा बाल सञ्जालका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

frontline

जीतपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री हरिकृष्ण अर्यालले सहजीकरण गर्नुभएको कार्यक्रमबाट शिखा तामाङको अध्यक्षतामा नगरस्तरीय बाल सञ्जाल गठन गरिएको छ। नवगठित सञ्जालले नगरपालिकाभित्रका बालबालिकाको साझा आवाजका रूपमा कार्य गर्दै बाल अधिकार संरक्षण, बाल सहभागिता प्रवर्द्धन तथा बालमैत्री स्थानीय शासन अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमअन्तर्गत क्षमता विकास सत्रमा कालीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री कृष्णप्रसाद ओझाले बाल सहभागिता, साङ्ला बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. टीकाराम भट्टले बैठक सञ्चालन तथा संस्थागत व्यवस्थापन तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक डा. वसन्तराज ढकालले नेतृत्व विकास र प्रभावकारी सञ्चार विषयमा सहजीकरण गर्नुभएको थियो।

महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुखले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत श्री धर्मराज लम्सालले “बालमैत्री स्थानीय शासन किन र कसका लागि?” भन्ने विषयमा बालमैत्री स्थानीय शासनको आवश्यकता, उद्देश्य र स्थानीय सरकारको भूमिकाबारे महत्वपूर्ण धारणा व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महिला विकास निरीक्षक श्री विमला कुमारी शर्माले गर्नुभएको थियो।

वडा नं २ का वडाध्यक्ष श्री राधाकृष्ण खड्गीज्यूले बाल सञ्जाल नगरका सबै बालबालिकाको आवाजको प्रधिनिधी हुने विश्वास व्यक्त गर्नुभयो भने कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख श्री सृजना बुर्लाकोटी अर्यालज्यूले आज गठन भएको नगर बाल सञ्जाल केवल एउटा संगठन नभई सम्पूर्ण नगरका बालबालिकाको साझा आवाज, नेतृत्व विकासको माध्यम तथा बाल अधिकार प्रवर्द्धन गर्ने महत्वपूर्ण मञ्च भएको उल्लेख गर्दै नवगठित सञ्जालले बाल विवाह, बाल श्रम, विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान, जन्मदर्ता, पूर्ण खोप, सरसफाइ, वातावरण संरक्षण, साइबर सुरक्षा, बाल हिंसा न्यूनीकरण तथा बाल अधिकार प्रवर्द्धनका क्षेत्रमा समुदायसम्म पुगेर प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

नगर प्रमुख श्री कृष्ण हरि महर्जनले नगरपालिकाले बाल सहभागितालाई औपचारिकतामा सीमित नराखी नीति निर्माण, योजना तर्जुमा, बजेट विनियोजन, कार्यक्रम कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनका सबै चरणमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने नीति अवलम्बन गरेको उल्लेख गर्नुभयो। उहाँले कार्यक्रममा बालबालिकाबाट प्राप्त सुझावहरूलाई आगामी नगर योजना तथा कार्यक्रममा समावेश गरिने प्रतिबद्धता व्यक्त गर्दै सबैको साझा प्रयासबाट तारकेश्वर नगरपालिकालाई तोकिएको समयभित्र बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने लक्ष्य हासिल हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा नगरपालिकाले कार्यक्रम सफल बनाउन उपस्थिति जनाउनुहुने तथा सहयोग गर्नुहुने सम्पूर्ण वडा कार्यालयहरू, फोकल विद्यालयहरू, प्रधानाध्यापक तथा शिक्षकहरू, वडा बाल सञ्जालका पदाधिकारीहरू, विषयगत शाखाहरू, स्वास्थ्य संस्थाहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, सञ्चारकर्मीहरू तथा कार्यक्रममा सहभागी सम्पूर्ण बालबालिकाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि बाल अधिकार संरक्षण, बाल सहभागिता प्रवर्द्धन तथा बालमैत्री स्थानीय शासन अभियानमा सबै पक्षको सक्रिय सहयोग र सहभागिताको अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here