काभ्रेमा नमोबुद्ध नगरपालिका क्षेत्रमा बर्डफ्लु
काभ्रे : काभ्रेको नमोबुद्ध नगरपालिका क्षेत्रमा बर्डफ्लु पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकाले वडा नम्बर–२ स्थित २६ नम्बर बाहिनी सैनिक ब्यारेक वरपर मरेका कागहरूमा परीक्षणमा गर्दा बर्डफ्लु पुष्टि भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जानकारी दिए ।
नगरपालिकाले नमुना संकलन गरी केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर काठमाडौंमा परीक्षणका लागि पठाइएको थियो । ‘प्रयोगशालाबाट आएको परीक्षण नतिजाअनुसार ‘लो प्याथोजेनिक एच–९’ प्रकारको बर्डफ्लु पुष्टि भएको छ,’ प्रमुख प्रशासकीय अधिकृत गिरीले भने ।
नगरपालिकाले सूचना निकालेर बर्डफ्लु रोगबाट मानव स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्न तथा संक्रमण फैलिन नदिन सबै सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला पशु कार्यालय काभ्रेको प्रमुख डा. बज्रकिशोर ठाकुरले एच ९ प्रकारको बर्डफ्लु मानव स्वास्थको लागि कम असर हुनेखालको भएको त्यसबारे थप अनुसन्धान गर्ने बताए ।






प्रतिक्रिया दिनुहोस्