अमेरिका–ईयू व्यापार सम्झौतालाई अन्तिमरूप दिन तीव्र दबाबमा
स्ट्रासबर्ग, फ्रान्स (एजेन्सी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ र कडा भन्सार शुल्क लगाउने चेतावनी दिएपछि युरोपेली संघ (ईयू) अमेरिका–ईयू व्यापार सम्झौतालाई अन्तिमरूप दिन तीव्र दबाबमा परेको छ ।
गत जुलाईमा स्कटल्यान्डको टर्नबेरीमा १५ प्रतिशत भन्सार शुल्क लगाउने सहमति भए पनि हालसम्म यसको अन्तिम कानूनी पाठ तयार हुन सकेको छैन ।
ट्रम्प प्रशासनले आगामी जुलाई ४ भित्र सम्झौता कार्यान्वयन नभए युरोपेली कार र ट्रकमा लाग्दै आएको शुल्क बढाएर २५ प्रतिशतसम्म पुर्याउने अल्टिमेटम दिएपछि ईयूका प्रतिनिधिहरू फ्रान्सको स्ट्रासबर्गमा निर्णायक छलफलमा जुटेका छन् ।
वार्षिक करिब १६ खर्ब युरो (१९ खर्ब अमेरिकी डलर) बराबरको व्यापारिक सम्बन्ध रहेका कारण दुवै पक्ष पूर्ण व्यापार द्वन्द्वतर्फ जान चाहँदैनन् । तर, सम्झौताको प्रक्रिया त्यति सहज भने देखिँदैन । गत मार्चमा युरोपेली संसद्ले थपेका केही संशोधनहरूलाई अमेरिकी पक्षले अस्वीकार गरेपछि विवाद बल्झिएको हो ।






प्रतिक्रिया दिनुहोस्