खाँदबारीमा खाद्य प्रशोधनसम्बन्धी तीनदिने तालिम सुरु
संखुवासभाको सदरमुकाम खाँदबारीमा खाद्य प्रशोधनअन्तर्गत अचार बनाउने तीनदिने तालिम सुरु भएको छ । तालिम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ संखुवासभाको आयोजनामा शनिबारदेखि सुरु भएको हो । खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले तालिमको उद्घाटन गरेका हुन् । तालिमपछि व्यवसायीले अचारमा छुट्टै पहिचान दिने गरी लाग्नुपर्ने थपलियाले बताए ।
त्यसैगरी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ संखुवासभाका कार्यालय प्रमुख नवराज गुरुङले व्यावसायिक रूपमा अचार बनाई कृषकलाई आत्मनिर्भरतातर्फ डोर्याउन तालिम आयोजना गरिएको बताए । गाउँघरमा नै उत्पादन भएका कच्चा पदार्थबाट अचार बनाएर जिल्लाभित्र र बाहिरसम्म पुर्याई बिदेसिने युवालाई रोजगारी दिने उनको भनाइ छ । कार्यालयको सहयोगमा खाँदबारीमा दुईवटा अर्गानिक कृषि कोसेली घर सञ्चालनमा आएको बताउँदै अचारको बेग्लै ब्रान्डिङ बनाउन सके राम्रो हुने कार्यालय प्रमुख गुरुङको भनाइ छ ।
तालिममा संखुवासभाका सात र भोजपुरका तीनजना गरी १० जना सहभागी छन् । स्थानीय महिला–पुरुषलाई स्वरोजगार तथा आय–आर्जनसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यालयले जनाएको छ । तीनदिने तालिममा एबिसी फुड ल्याब एन्ड कन्सल्टेन्सी प्रालि मोरङका म्यानेजर गौरव लुइटेलले सहजीकरण गरिरहेका छन् ।
गाउँघरमा सबैले अचार बनाएकै हुन्छन्, त्यसलाई प्राविधिक ढंगले नबिग्रिने र लामो समयसम्म कसरी भण्डार गरेर राख्न सकिन्छ भन्नेबारे सिकाइने प्रशिक्षक लुइटेलले जानकारी दिए । आँप, कागती, खुर्सानी, मुला, गाजर र सिमीलगायत विभिन्न प्रकारका अचार बनाउने विधि, सरसफाइ, प्याकेजिङ तथा बजारीकरणसम्बन्धी जानकारी प्रदान गरिने जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्