सुकुमवासीलाई ल्याइयो बनेपा

२८ वैशाख, काभ्रेपलाञ्चोक । काठमाडौं उपत्यकाका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएकाहरूलाई काभ्रेको बनेपा ल्याइएको छ । उपत्यकाका थापाथली, गैरीगाउँ, मनोहरा, शंखमुल, बोक्सीघाट र प्रयागघाट लगायतका स्थानबाट विस्थापित भएका ११० सुकुमवासीहरूलाई बनेपा–६ मा रहेको नेपाल रेडक्रस सोसाइटीको प्रशिक्षण केन्द्रमा राखिएको छ ।

होल्डिङ सेन्टर रहेका सुकुमवासीहरू पटकपटक सर्नुपर्दा चिन्तित देखिन्छन् । उनीहरू सबैको साझा प्रश्न सुनिन्छ, ‘सरकारले खान र बस्न त देला तर दिनभरि के काम गर्ने ? परिवारको गुजारा सधैं कसरी चलाउने  ? रोजगारीको लागि के छ विकल्प ?’ सरकारले नै रोजगारीको लागि व्यवस्था मिलाइदिनुपर्ने उनीहरूको माग छ ।

frontline

काठमाडौं– ९ प्रयागघाट सुकुमवासी बस्तीका टेकबहादुर थापाले आफूहरूलाई खानको समस्या भन्दा पनि बासको समस्या भएको गुनासो गरे । उनी माछापोखरीस्थित एक होटलमा ११ दिन बसेर बनेपा आइपुगेका हुन् ।

‘खान त दिनभरि काम गरेर खोले खाउँला तर बास ठाउँठाउँमा सारेर भन्दा पनि कहाँ बस्ने भन्ने कुरा सरकारले तय गरिदियोस्,’ उनले गुनासो गरे ।

३० वर्षदेखि थापाथली बस्दै आएकी धनुषाकी बीमा देवी झाको गुनासो पनि थापाको जस्तै छ । ‘सरकारले चाँडो छानबिन गरिदियोस्, गरिबको उद्धार गरोस्,’ उनको माग छ ।

काठमाडौ–९ स्थित बस्तीमा बस्दै आएकी मनकुमारी सार्कीको भने समस्या अलि फरक छ । विस्थापित हुनुअघि उनी ठेकेदारमार्फत कुचो लगाउने, फूल गोड्ने लगायतका काम गर्थिन् । अहिले उनको काम छुटेको छ ।

‘ठेकेदारले बोलाउँछ तर म जान सकेको छैन । एक त समयले भ्याइँदैन अर्को पैसा छैन । झन् बनेपाबाट त काठमाडौं पुग्न नै दुई घण्टा लाग्दो रहेछ,’ उनको गुनासो छ ।

१४ दिनको सुत्केरीलाई छैन स्याहार

थापाथलीमा बस्दै आएकी २० वर्षीया अन्जली कुमारी महतोलाई चिकित्सकले वैशाख दोस्रो साता नै सुत्केरी हुने समय दिएको थिएका थिए । वैशाख १२ मा घरमै डोजर चल्यो ।

सकिनसकी सामान व्यवस्थापन गरेकी उनलाई सुरुमा बालाजुको होल्डिङ सेन्टर पुर्‍याइयो । ‘मलाई त्यहाँ पुगेपछि सुत्केरी हुने व्यथा लाग्यो, परिवारले नै अस्पताल लग्यो,’ उनले भनिन्, ‘१४ वैशाखामा छोरी जन्मिइन् ।’

सुत्केरी अञ्जली केहीदिन अस्पताल बसेर पुन: बालाजुको होल्डिङ पुगेकी थिइन् । उनलाई पनि बालाजुबाट चार दिन अघि बनेपा ल्याइएको छ । ‘अप्रेसन भएको ज्यान कहिले कता, कहिले कता सारिरहेका छन् । सर्ने क्रममा अप्रेसन गरेको ठाउँमा साह्रै दुख्छ,’ उनको दुखेसो छ ।

अहिले पर्याप्त स्तनपान नहुँदा बच्चालाई समेत समस्या भइरहेको उनले बताइन् । पोषण नपुगेर बच्चा कमजोर हुने चिन्ता उनमा छ । भर्खरै जन्मिएकी दूधे बालकलाई तेल लाउन पनि धौ–धौ भएको उनले बताइन् ।

उनको ७ जनाको परिवार थापाथलीमा मिस्त्रीको काम गरेर पालिएका थिए । त्यो कामको लय अहिले छुटेको उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here