काँक्रेविहार संरक्षणका लागि १० वर्षे कार्ययोजना : मिनी चिडियाखानादेखि वन्यजन्तु उद्धार केन्द्रसम्म

समाचार सारांश

  • सुर्खेतको काँक्रेविहार वन संरक्षण क्षेत्रको दिगो व्यवस्थापन र विकासका लागि दश वर्षे कार्ययोजना तयार पारिएको छ, जसमा जैविक विविधता संरक्षण, पर्या-पर्यटन प्रवर्द्धन र स्थानीय समुदायको जीविकोपार्जन सुधारलाई जोड दिइएको छ।
  • कार्ययोजना कार्यान्वयनका लागि ४ करोड २० लाख बजेट प्रस्ताव गरिएको छ र यसले जैविक मार्ग र सिमसार क्षेत्रको पुनर्स्थापना, मिनी चिडियाखाना निर्माण, र स्थानीय समुदायको जीविकोपार्जनमा सुधार ल्याउने लक्ष्य राखेको छ।
  • वन क्षेत्रमा मानिसको बढ्दो उपस्थिति र होहल्लाका कारण वन्यजन्तु असुरक्षित बनेका छन्, जसले गर्दा काँक्रेविहार क्षेत्रमा पिकनिक मनाउन प्रतिबन्ध लगाइएको छ र जरायोको संख्यामा कमी आएको छ।

सुर्खेत । सुर्खेत उपत्यकाको ऐतिहासिक, पुरातात्त्विक र वातावरणीय धरोहरको रूपमा रहेको काँक्रेविहार वन संरक्षण क्षेत्रको दिगो व्यवस्थापन र विकासका लागि दश वर्षे विशेष कार्ययोजना तयार पारिएको छ ।

frontline

जैविक विविधता संरक्षण, पर्या–पर्यटन प्रवर्द्धन र स्थानीय समुदायको जीविकोपार्जन सुधारलाई केन्द्रमा राखेर वन तथा भू–संरक्षण विभागले उक्त कार्ययोजना तयार पारेको हो । कार्ययोजना कार्यान्वयनका लागि करिब ४ करोड २० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

सुर्खेतका डिभिजन वन अधिकृत वसन्तबाबु श्रेष्ठका अनुसार कर्णाली प्रदेशको प्रमुख चिनारी मानिने काँक्रेविहार वन क्षेत्र १७५.५० हेक्टरमा फैलिएको छ । यो संरक्षण क्षेत्रभित्र १४–१५ औँ शताब्दीतिर निर्मित शिखर शैलीको मन्दिरका भग्नावशेष रहनुका साथै २५ प्रकारका स्तनधारी, ४१ प्रजातिका चराचुरुङ्गी र ९३ भन्दा बढी प्रजातिका रुखको घर रहेको कार्ययोजनामा भनिएको छ ।

कार्ययोजनामा उल्लेख भएअनुसार यसको महत्त्वलाई ध्यानमा राख्दै सङ्घीय, प्रदेश र स्थानीय तहका सरोकारवालाहरूको विस्तृत छलफल र सहकार्यमा यो महत्त्वाकाङ्क्षी योजना अघि सारिएको हो ।

काँक्रेविहार क्षेत्रको जैविक विविधता, ऐतिहासिक र वातावरणीय सम्पदाको दिगो विकासमार्फत पर्यटन प्रवर्द्धन गर्दै स्थानीय समुदायको जीविकोपार्जनमा सुधार ल्याउनु कार्ययोजनाको उद्देश्य रहेको श्रेष्ठ बताउँछन् ।

कार्ययोजना अनुसार संरक्षणमुखी वन व्यवस्थापन गर्दै जैविक मार्ग र सिमसार क्षेत्रको पुनर्स्थापना गरिने छ । जसले गर्दा वन्यजन्तुहरू बर्दिया राष्ट्रिय निकुञ्जसम्म निर्बाध आवतजावत गर्न सक्नेछन् ।

वन र जलाधार क्षेत्रको अवस्थामा सुधार गरी वातावरणीय सन्तुलन कायम गर्ने, हरित उद्यम र आयमूलक कार्यक्रमहरू सञ्चालन गरी यहाँ आश्रित करिब ७ हजार ४५२ घरधुरीको जीविकोपार्जनमा सुधार ल्याउने कार्यक्रम गरिने छ ।

यसका लागि कार्ययोजनाले दिगो वन व्यवस्थापन, पुरातात्त्विक सम्पदा संरक्षण, पर्या–पर्यटन विकास, वैकल्पिक इन्धन प्रवर्द्धन, क्षमता विकास र जलवायु परिवर्तन अनुकूलनजस्ता विषयगत क्षेत्रमा ठोस कार्यक्रम प्रस्ताव गरिएको छ ।

  • कार्यान्वयन र व्यवस्थापन संरचना

कार्ययोजनाको कार्यान्वयनको मुख्य जिम्मेवारी डिभिजन वन कार्यालय, सुर्खेतलाई दिइएको छ । प्रभावकारी कार्यान्वयन र स्थानीय सहभागिता सुनिश्चित गर्न ‘काँक्रेविहार वन संरक्षण क्षेत्र परिषद्’ गठन गर्ने प्रस्ताव गरिएको छ ।

यस परिषदमा नगरपालिका, वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय र अन्य सरोकारवाला निकायका प्रतिनिधि रहनेछन् । परिषद्को ११ सदस्यीय कार्यकारी समितिले कार्यक्रमहरूको समन्वय र सञ्चालन गर्नेछ, जसमा डिभिजन वन कार्यालयले तोकेको वन अधिकृतले सदस्य–सचिवको भूमिका निर्वाह गर्नेछन् ।

  • अनुगमन तथा स्वीकृति प्रक्रिया

कार्ययोजनालाई अन्तिम स्वीकृतिका लागि वन तथा भू–संरक्षण विभागले कर्णाली प्रदेश सरकारको रायसहित सङ्घीय वन तथा वातावरण मन्त्रालयमा पेस गर्नेछ । स्वीकृत योजना कार्यान्वयनको नियमित अनुगमन कर्णाली प्रदेशको वन निर्देशनालय र वन तथा भू–संरक्षण विभागले गर्नेछ ।

यो १० वर्षे कार्ययोजनाले काँक्रेविहारको प्राकृतिक र सांस्कृतिक सम्पदालाई भविष्यका लागि सुरक्षित राख्दै यसलाई एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न र स्थानीय समुदायलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको वन अधिकृत श्रेष्ठ बताउँछन् ।

काँक्रेविहारभित्र प्रतिहेक्टर ९,७७६ विरुवा, १,६३५ लाथ्रा, ४९९ पोल र ७२७ रुख छन् ।

कार्ययोजनामा १० वर्षभित्र काँक्रेविहारमा मिनी चिडियाखाना बनाइने योजना छ । बजेटमा वन तथा जलाधार व्यवस्थापन कार्यक्रमलाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ, जसका लागि कुल १ करोड ७ लाख रुपैयाँ प्रस्ताव गरिएको छ । यस कार्यक्रम अन्तर्गत दिगो वन व्यवस्थापन, वन डढेलो नियन्त्रण, सार्वजनिक–निजी वन विकास, वैकल्पिक ऊर्जा प्रवर्द्धन र सिमसार क्षेत्र व्यवस्थापनजस्ता महत्त्वपूर्ण उप–कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

वन अधिकृत श्रेष्ठले भने, ‘काँक्रेविहारमा मुख्य रूपमा पाइने भनेको जरायो हो । पछिल्लो समय वन क्षेत्र वरिपरि बस्ती बसे । वन क्षेत्रभित्र बाटो बनेका छन् । मान्छेको आवत–जावत बढ्न थाल्यो ।’

जैविक विविधता संरक्षण तथा व्यवस्थापन कार्यक्रमले बजेटमा दोस्रो प्राथमिकता पाएको छ, जसका लागि ९० लाख रुपैयाँ छुट्ट्याइएको छ । यस अन्तर्गत सबैभन्दा ठुलो र महत्त्वपूर्ण कार्यक्रमको रूपमा वन्यजन्तु उद्धार केन्द्र निर्माण रहेको छ, जसका लागि ५० लाख प्रस्ताव गरिएको छ ।

साथै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि २० लाख र अवैध चोरी शिकारी नियन्त्रणका लागि १० लाख रुपैयाँ प्रस्ताव गरिएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यापर्यटन विकास तथा व्यवस्थापन कार्यक्रमका लागि ४८ लाख प्रस्ताव गरिएको छ ।

यसअन्तर्गत फुटट्रेल (पदमार्ग) निर्माण तथा मर्मत मा ३० लाख र दृश्यावलोकन मचान निर्माणमा १५ लाख रुपैयाँ लगानी गरिनेछ ।

त्यसैगरी, ऐतिहासिक, पुरातात्त्विक र धार्मिक सम्पदाको संरक्षण तथा व्यवस्थापनका लागि ३० लाख, हरित उद्यम तथा जीविकोपार्जन कार्यक्रमका लागि ५० लाख र मानव स्रोत तथा संस्थागत क्षमता विकासका लागि २५ लाख रुपैयाँ लगानी गर्नुपर्ने छ ।

  • असुरक्षित वन्यजन्तु, घटे जरायो

काँक्रेविहार संरक्षित वन क्षेत्रमा मुख्यगरी जरायोको वासस्थान छ । केही वर्ष अघिसम्म यहाँ ८० वटासम्म जरायो रहेको भनिन्थ्यो । तर पछिल्लो समय विभिन्न तथ्याङ्क अनुसार ४४ वटासम्म रहेको बताइन्छ । वन हेरालुको भनाइ अनुसार कम्तीमा ४० वटासम्म जरायो छन् ।

वन अधिकृत श्रेष्ठले भने, ‘काँक्रेविहारमा मुख्य रूपमा पाइने भनेको जरायो हो । पछिल्लो समय वन क्षेत्र वरिपरि बस्ती बसे । वन क्षेत्रभित्र बाटो बनेका छन् । मान्छेको आवत–जावत बढ्न थाल्यो ।’

वन क्षेत्रभित्र मान्छेको उपस्थिति बढेको र होहल्ला बढ्दा वन्यजन्तु असुरक्षित भएकोभन्दै अहिले काँक्रेविहार क्षेत्रमा पिकनिक मनाउन प्रतिबन्ध गरिएको छ । 

मानव–वन्यजन्तुको द्वन्द्व बढेकाले जनावरहरू असुरक्षित बनेको उनले बताए । जरायोबाहेक बँदेल, खरायो, मृग, स्याल लगायतका जनावरसमेत छन् । यस्तै मयुर, कालिजजस्ता चराचुरुङ्गी पनि काँक्रेबिहारभित्र देखिन्थे ।

वनभोज तथा ठुलो आवाजमा नाचगान गर्ने कार्यक्रम बढेसँगै जनावरहरू त्रसित भएर वन क्षेत्र बाहिर निस्कने गरेका छन् । पछिल्लो समय कतिपय वन्यजन्तु यहाँ देखिन छाडेका छन् ।

केही वर्षअघि एउटा जरायो बुलबुले तालमा घाइते अवस्थामा फेला परेको थियो । स्थानीयले बालीनालीमा पसेको भन्दै ढुङ्गामुढा गरेर लखेटेका थिए ।

काँक्रेविहार क्षेत्रभित्रको उक्त जरायोलाई तालको बिचमा फसेको अवस्थामा उद्धार गरिएको थियो । उपचारको क्रममा दुई दिनपछि उक्त जरायो मर्‍यो । कतिपय जरायो चोरी सिकारी गर्नेको निशानामा परेका छन् । ०८० असारमा काँक्रेविहार संरक्षित क्षेत्रभित्रको जरायो मारेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो ।

संरक्षित वन क्षेत्रभित्र मानवको हस्तक्षेप बढेपछि कतिपय जनावर बाहिर निस्केर विचलित भएर पनि मर्ने गरेका छन् । वन्यजन्तु असुरक्षित हुनुको अर्को कारण संरक्षित क्षेत्र वरिपरि पर्खाल नहुनु पनि हो । विगत केही वर्षदेखि त्यहाँ पर्खालको काम चलिरहेको छ । करिब ११ करोड लगानीमा उक्त वाल लगाउने काम भएको हो । साथै वन क्षेत्रमा बिरुवा रोप्ने काम पनि भइरहेको छ ।

वन क्षेत्रभित्र मान्छेको उपस्थिति बढेको र होहल्ला बढ्दा वन्यजन्तु असुरक्षित भएकोभन्दै अहिले काँक्रेविहार क्षेत्रमा पिकनिक मनाउन प्रतिबन्ध गरिएको छ । 

#काँक्रेविहार #वन्यजन्तु

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here