ककनी गाउँपालिकामा ६०० स्ट्रवेरी उत्पादक : वार्षिक ५० करोडको आम्दानी
ककनी गाउँपालिकाका २८ वर्षीय छेसाङ तामाङले वडा नम्बर-२ मा स्ट्रवेरी खेती गर्दै आएका छन् । २०५९ सालदेखि नमुन्चेत फार्ममा आधुनिक प्रविधिबाट स्ट्रवेरी खेती गर्दै आएका उनले साेहीबाट परिवार पाल्दै आएका छन् ।
मुलुकमै पहिलो पटक फार्म सञ्चालन गरेकाे दावी गर्दै साेप्रति सन्तुष्ट भएकाे उनी सुनाउँछन् । फार्मसहित पालिकाभर वार्षिक ५० करोड रुपैयाँसम्मको स्ट्रवेरी उत्पादन भइरहेको उनले दाबी गरे । जापानिज भेराइटीको स्ट्रवेरी उत्पादन गर्दै आएका उनले आफ्नाे फार्मबाट तीन जनाले राेजगारीसमेत पाएकाे सुनाउँछन् ।
फार्ममा उत्पादित स्ट्रवेरी उपत्यका तथा नेपालभरका विभिन्न बजारमा जाने गरेको उनले बताए । ‘इन्डियामा पनि स्ट्रवेरीको माग आएको छ,’ उनले भने, ‘केही समयमा नेपाली बजारका साथै अन्तर्राष्ट्रिय बजारमा पठाउने तयारी गरिरहेको छु ।’
आफूले व्यावसायिक रुपमा स्ट्रवेरी उत्पादन गर्दै आए पनि पालिकाले कुनै सहयाेग नगरकाेमा उनले दुखेसाे पाेखे । ‘हामीलाई न बजारीकरणमा सहयोग गरेको छ न त ब्राण्डिङमा सहयोग गरेको छ,’ उनले भने । ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरणबाहेक अरुमा सहयोग नगरेको उनको गुनासो छ ।
गाउँपालिकामा ‘स्ट्रवेरी हब’ भए पनि किसानका लागि सहयोग गर्न नसकेको पालिकाका अध्यक्ष सुमन तामाङले बताए । उनका अनुसार गाउँपालिकामा करिब ६०० जना कृषकले व्यावसायिक रुपमा स्ट्रवेरी खेती गर्दै आएका छन् ।पालिकाले उनीहरुलाई ५० प्रतिशत अनुदानमा गत वर्ष र चालु आर्थिक वर्षमा मल्चिङ प्लाष्टिक वितरण गरेकोे अध्यक्ष तामाङले बताए ।
चालु आवमा कुनै सहयाेग गर्न नसके पनि आगामी वर्षमा बजारीकरणका लागि बजेट विनियाेजन गर्ने उनले प्रतिबद्धता जाहेर गरे । ‘गाउँपालिकाले स्थानीय बिक्री केन्द्रसँग सहकार्य गरेर बजारीकरणका लागि सहजीकरण गर्ने योजनामा छाैँ,’ उनले भने।
गाउँपालिकामा उत्पादित स्ट्रवेरी बिचाैलियामार्फत बेच्ने भएकाेले स्थानीय कृषक मारमा पर्ने गुनासाे आएकाे उनले सुनाए । ‘कृषकसँग ५०० रुपैयाँमा किनेर एक हजारसम्म बेच्ने गरेकाे पाइएकाे छ,’ उनले भने, ‘साे समस्याकाे समाधानकाे लागि केही नीति ल्याएका छाैँ ।’
बिचाैलियाकाे अन्त्यकाे लागि गाउँपालिकाले स्थानीय सहकारी संस्थामार्फत स्ट्रवेरीकाे बजारीकरण गर्ने याेजना बनाएकाे उनले सुनाए । हाल गाउँपालिकाले बजारीकरण र अनुदानमा मात्रै सामग्री वितरण गर्ने तर नगद सहयाेग नगर्ने उनले बताए । गाउँपालिकाकाे आम्दानी स्राेत कम भएकाले आर्थिक सहयाेग गर्न नसकेकाे उनकाे भनाइ छ । बजारीकरणका लागि स्ट्रवेरी संकलन केन्द्र र बिक्री केन्द्र स्थापना गर्न सकेमा सहज हुने उनले सुनाए ।
कृषि शाखा सहायक पाँचौ स्तर शम्भुप्रसाद राईका अनुसार वडा नं- ५, वडा नं- २ र वडा नं- ३ मा स्ट्रवेरी खेती हुँदै आएकाे छ । ‘आजभाेलि स्ट्रवेरी खेतीमा आकर्षण बढेकाे छ, उनले भने, ‘गाउँपालिकामा एक हजार फार्म दर्ता गरी व्यवसायिक खेती हुदै आएकाे छ ।’
एकजना किसानले ३ देखि ४ रोपनी र १० देखि १२ रोपनीमा स्ट्रवेरी खेती गर्दै आएकाे उनले सुनाए । ‘प्रति एक रोपनीमा जग्गामा तीनदेखि तीन हजार ५०० सम्म स्ट्रवेरी फल्ने गरेको पाइएको छ,’ उनले भने, ‘झरी र असिनाले असर गरेन भने एक बोटमा २ किलोसम्म स्ट्रबेरी फल्ने गर्छ ।’
गाउँपालिकाबाट उत्पादित स्ट्रवेरीलाई ए, बि र सीमा ग्रेडिङ गरी बिक्री हुँदै आएको उनले सुनाए । बारीबाट ए ग्रेडको स्ट्रवेरी प्रतिकिलो ३०० देखि ३५० रुपैयाँ, बी ग्रेडकाे २५० रुपैयाँ र सी ग्रेडको १५० रुपैयाँसम्ममा बिक्री हुने गरेकाे उनले बताए ।
किसानले १ रोपनीमा उत्पादन गरेको स्ट्रवेरीबाट वार्षिक ६ देखि ७ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । ‘स्ट्रवेरी एक पटक रोपेपछि ६ देखि ७ महिनासम्म निरन्तर फल दिने गर्छ,’ उनले भने, ‘स्ट्रबेरीले कार्तिकदेखि फल दिन सुरु गरेपछि बैशाख जेठसम्ममा फल लाग्ने गरेको पाइन्छ ।’
गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिक, मल र जाली वितरण गरेकाे उनले सुनाए । चालु आवमा गाउँपालिकाले साेका लागि १८ लाख रुपैयाँ बजेट विनियाेजन गरेकाे उनकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्