दिल्ली दौडाहा :
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किने दिन शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन्।
परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल जेठ २२ देखि २४ गतेसम्म भारत भ्रमणमा जान लागेको जानकारी गराएको छ। मन्त्री खनालले नयाँदिल्लीमा भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम
रहेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार वार्ताका क्रममा नेपाल र भारतबीचको व्यापार, कनेक्टिभिटी, ऊर्जा व्यापार र जनता–जनताबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल हुनेछ। भारतीय विदेशमन्त्री जयशंकर र मन्त्री खनालबीच यसअघि मौरिसस पनि भेटवार्ता भएको थियो।
परराष्ट्रले दुई देशबीच हुँदै आएको नियमित उच्चस्तरीय भ्रमणको आदानप्रदानको निरन्तरताको रूपमा यो भ्रमण हुन लागेको जनाएको छ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भ्रमणले नेपाल र भारतबीचको ऐतिहासिक, स्थायी र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझै बलियो बनाउने प्रयास रहने व्यक्त गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल २४ गते आइतबार स्वदेश फर्किनेछन्।
पाँचदिने भारत भ्रमणको तीन दिनसम्म लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकर, भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन, महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले, रेखा गुप्ता लगायतका वरिष्ठ नेताहरूसँग द्विपक्षीय छलफल गरेका थिए।
सम्भावनाको खोजी गर्न भारत भ्रमणः लामिछाने
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्भावनाको खोजी गर्न आफू भारत भ्रमणमा आएको बताएका छन्।
प्रवासी नेपाली सम्पर्क मञ्च भारतद्वारा बिहीबार नयाँ दिल्लीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले भारतसँग नयाँ ढंगले सहकार्य गर्न चाहेको बताए।
‘विगतमा के भयो, के भएनभन्दा पनि अब भारतसँग नयाँ ढंगले सहकार्य गर्न चाहेको हुँ,’ सभापति लामिछानेले भने, ‘हामी भागबन्डा गर्न होइन, नेपालीको भाग्य परिवर्तन गर्न आएका हौं। बाटो सजिलो छैन तर असम्भव पनि छैन। राजनीतिक भागबन्डाको युगलाई अन्त्य गर्न र देशलाई निकास दिन रास्वपा सरकारमा आएको हो।’
भ्रमणको चौथो दिन सभापति लामिछानेले प्रवासी नेपाली समुदायलाई सम्बोधन गर्दै सरकारको नियतमा शंका नगर्न आग्रह गरे। प्रतिनिधिसभा निर्वाचनमा परिवारलाई घण्टीमा भोट हाल्न लगाउने प्रवासी नेपालीको वचन खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे। सरकारले खराब काम गरेमा खबरदारी गर्न पनि उनले आग्रह गरे।
भाजपाको निमन्त्रणामा भारत भ्रमणमा गएका लामिछानेका साथ उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपकराज बोहरा र लामिछानेका स्वकीय सचिव प्रदीप आचार्य भारत प्रस्थान गरेका थिए।






प्रतिक्रिया दिनुहोस्