बिना अनुमति रेष्टुरेन्टमा गरिएको कन्सर्टमा मध्यराति लफडा

सान्केतिक तस्बिर

९ भदौ, विराटनगर  । स्थानीय प्रशसनसँग अनुमति नलिइ विराटनगरको एउटा रेष्टुरेन्टमा आयोजना गरिएको कन्सर्ट (सांगीतिक कार्यक्रम) मा मध्यराति लफडा भएको छ । 

विराटनगर महानगरपालिका–४ एयरपोर्ट मोडमा अमन साहले सञ्चालन गरेको तृष्णा रेष्टुरेन्टमा गायक सुशान्त केसीलाई बोलाएर कन्सर्टको आयोजना गरिएको थियो । 

frontline

प्रहरीका अनुसार कन्सर्ट चलिरहेका बेला मदिराको मातमा रहेका युवाहरुले बादविवाद गर्न थालेपछि राति ११:३० बजेतिर लफडा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

विराटनगर महानगरपालिका–१० का २२ वर्षीय सुजन चौधरीलगायतका युवाहरुले मदिराको नशामा अनावश्यक हर्कत देखाएर लफडा गरेपछि अवस्था तनावपूर्ण बनेको प्रहरीले जनाएको छ । युवाहरु अराजक बन्दै गएपछि रेष्टुरेन्टका कर्मचारीले सम्झाईबुझाई गरेका थिए ।

 नमानेपछि रेष्टुरेन्टमा कार्यरत बाउन्सरले कुटपिट गर्दा सुजन घाइते भएका छन् । 

टाउकोमा चोट लागेका उनलाई विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । प्रहरीका अनुसार टाउकोमा तीन टाँका लगाइएका उनको अवस्था सामान्य नै छ । 

रेष्टुरेन्टमा लफडा हुन थालेपछि सुजनका बुवा सन्तोषकुमार चौधरी बाहिरबाट २०/२२ जना व्यक्तिहरुलाई लिएर घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । 

सन्तोषको नेतृत्वमा पुगेको समूहले रेष्टुरेन्टमा तोडफोडको प्रयाससमेत गरेको थियो । विराटनगरका उद्योगी रहेका ४५ वर्षीय सन्तोष पानी राख्ने ट्यांकी उत्पादन गर्ने जानकी पोलिट्यांकका सञ्चालकसमेत हुन् । 

घटनापछि सन्तोषसहित रेष्टुरेन्टका बाउन्सर भारत फारबेसगन्जका ३१ वर्षीय श्रवण अली र सुरक्षा गार्ड सुनसरीको इटहरी उपमहानगरपालिका–३ का ३३ वर्षीय सुमन चौधरीलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । 

‘बाहिरबाट युवाहरु लगेर रेष्टुरेन्टमा तोडफोडको प्रयास गरेको पाइएपछि सन्तोषलाई नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘कुटपिटमा संलग्न रेष्टुरेन्टका बाउन्सर र सुरक्षा गार्डलाई पनि पक्राउ गरिएको छ ।’ 

एसपी कोइरालाका अनुसार लफडाका क्रममा प्रदेश १–००१ च ७५७१ नम्बरको कार पनि तोडफोड गरिएको छ । तोडफोडबाट कारको अगाडिको सिसा फुटेको र साइड कुच्चिएको उनले बताए । उनका अनुसार घटनाका बारेमा अनुसन्धान सुरु गरिएको छ । 

विराटनगरका होटल तथा रेष्टुरेन्टहरु राति १० बजे बन्द गर्नुपर्ने नियम छ । तर राति ११:३० बजेसम्म कन्सर्टको आयोजना गरेको रेष्टुरेन्टले भने प्रशासनसँग अनुमति नलिएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । 

‘कुनै ठाउँमा राति अवेरसम्म भीडभाड हुने गरी कुनै कार्यक्रम गर्नुपर्ने भएमा प्रशासनसँग लिखित अनुमति लिनुपर्ने हुन्छ । त्यही अनुमतिका आधारमा सुरक्षा व्यवस्था मिलाउने गरिन्छ,’ उनले भने, ‘तर तृष्णा रेष्टुरेन्टले अनुमति नलिइकन आफूखुसी कन्सर्टको आयोजना गरेको रहेछ । त्यसो गर्न पाइँदैन ।’ 

बिना अनुमति कन्सर्टको आयोजना गरेको रेष्टुरेन्टका सञ्चालकलाई भने प्रहरीले पक्राउ गरेको छैन । ‘घटनाका बारेमा अनुसन्धान अघि बढाएर थप बुझ्ने काम भइरहेको छ,’ प्रहरीका एक अधिकारीले भने, ‘थप विषय खुलेपछि अरुलाई पनि नियन्त्रणमा लिएर कारबाही अघि बढाउने तयारी छ ।’ 

प्रतिक्रिया दिनुहोस्

poster-here