सहमति नजुटेपछि ‘इमर्जेन्सी मोड’मा कांग्रेस महाधिवेशनको तयारी :  डा.महत

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशनको तयारी आपत्कालीन अवस्था (इमर्जेन्सी मोड) मा गरिरहेको बताएको छ । शनिबार पार्टीको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले समयको चापका कारण छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको स्पष्ट पारे।

पार्टीभित्र एकताको महाधिवेशन गर्नका लागि अन्तिमसम्म प्रयास गरे पनि सम्भव नभएको महतको भनाइ छ।  ‘हामी एकताको महाधिवेशन सम्पन्न होस् भन्ने चाहन्थ्यौँ, त्यसका लागि सबै ढोका खुला राखेर कोसिस गर्दा पनि सम्भव नभएपछि आपत्कालीन मोडमा तयारीमा लागेका छौँ,’ उनले भने। 

frontline

नेता महतले कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते सम्पन्न हुने जानकारी दिए। तय भएको तालिका अनुसार वडा तहको अधिवेशन असोज १५ गतेबाट सुरु हुँदैछ।  हालै देशभर परेको अविरल वर्षाका कारण तयारीका कतिपय काममा ढिलाइ भएको उनले स्वीकार गरे।

वर्षाको प्रभाव र प्राविधिक कारणले असोज १५ गते नै सबै वडामा अधिवेशन सम्पन्न हुन नसक्ने अवस्था आएमा तत्कालै अर्को निर्णय गरिने उनले बताए। १५ गते अधिवेशन हुन नसकेका वडामा जिल्ला खटिएका निर्वाचन अधिकृत र जिल्ला संयोजकको समन्वयमा असोज १६ वा १७ गतेसम्ममा अधिवेशन सम्पन्न गर्ने गरी निर्णय लिइने व्यवस्था मिलाइएको छ।

अधिवेशनलाई छिटो र छरितो रूपमा सम्पन्न गर्न एक–दुई दिनभित्रै निर्वाचन अधिकृतहरू जिल्ला पुग्ने तयारी छ। यसका लागि स्थानीय तहमा रहेका कानुन व्यवसायी वा पूर्वशिक्षक जसलाई निर्वाचन सम्पन्न गराएको अनुभव छ, उनीहरूलाई नै परिचालन गरिने महतले जानकारी दिए। निर्वाचन समितिले तोकेको समयमै देशभरका प्रतिनिधि र अधिकृतहरू गाउँ पुग्ने भएकाले कार्यकर्तालाई निर्धक्क भएर तयारीमा लाग्न उनले आग्रह गरे।

यसैगरी, पार्टीले गत पुससम्म नवीकरण भएका र नयाँ प्राप्त भएका क्रियाशील सदस्यहरूको सूची अनलाइनमार्फत तत्कालै जिल्ला र वडा तहमा पठाउने प्रबन्ध गरेको छ। अनलाइनमार्फत फारम भर्न छुटेका नयाँ सदस्यहरूले असोज १५ गतेभित्र सिधै वडामा गएर सदस्यता लिन सक्ने व्यवस्थासमेत मिलाइएको नेता महतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here